पूजा खड्का
स्याङ्जा ,८ चैत । अर्जुनचौपारी गाउँपालिका वडा नं १ जल बराह धार्मिक वनमा अवस्थित नेपालकै पहिलो नवग्रह मन्दिरमा चैत्र १६ गते सूर्य ग्रहण लाग्ने औँसीको दिन साढेसाती शनि ग्रहको विशेष पूजा गरिने भएको छ।
नेपालमै पहिलो अर्जुनचौपारी गाउँपालिकामा अबस्थित नवग्रह मन्दिरमा साढे साती शनी ग्रह को नकारात्मक प्रभाव बाट मुक्ति प्राप्तिको लागि चैत १६ गते नवग्रह मन्दिरमा साढे साती शनि देव को पूजा हुने अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो। उहाले नवग्रह मन्दिरमा धार्मिक अनुष्ठान पछि पहिलो पटक यसरी पूजाको आयोजना गरिएको बताउनुभयो। उहाले नवग्रह मन्दिरमा शनिबार गरिने पूजा धार्मिक महत्वको साथसाथै सामाजिक र सांस्कृतिक दृष्टिकोणबाट समेत विशेष महत्व रहने जानकारी दिनुभयो। उहाले यस अवसरमा विशेष गरी नवग्रह सँग सम्बन्धित यन्त्र, मन्त्र र तंत्र को प्रयोग गर्दै स्वामी शिव, हनुमान तथा शनिदेवको विशेष पूजाआजा गर्दै शनिदेव को निशान प्रतिमा राखिएको रुपाकोट कालिका मन्दिरमा समेत पूजा गरिने जानकारी दिनुभयो। चैत १६ गते सुर्यग्रहण लाग्ने भएकोले पनि यस दिनको पूजालाई अझ विशेष महत्वको मानिएको छ ।
ज्योतिष शास्त्रअनुसार नौ ग्रहहरू मध्येका एक शनि ग्रहलाई न्यायका देवता भनेर पनि पुज्ने गरिन्छ । साथमा शनि देवलाई कर्म, अनुशासन, धैर्यता र जिम्मेवारीको प्रतीक मानेर पूजा गर्ने गरिन्छ । त्यसै गरी शनि देव मानवीय अनुशासन सिकाउने ग्रह को रुपमा पनि पुज्ने गरिन्छ । नवग्रह मध्ये शनिको छुट्टै प्रभाव रहने हुँदा मानव जीवनमा यसको फरक महत्व रहेको छ। त्यसै गरी शनि त्रयोदशीको अवसरमा शनिदेवको विशेष पूजाआजा गर्ने प्रचलन उत्तिकै रहेको छ।
हिन्दु धर्मअनुसार शनि जब कुनै राशिमा प्रवेश गर्छन्, त्यसले सम्बन्धित राशिको गुण धर्म अनुसार फरक प्रभाव पार्छ । शुभ कर्म गरेको बखत सफलता, सहजता, उन्नति, प्रगति , सकारात्मक प्रभाव र स्थायित्व प्रदान गर्छ भन्ने मान्यता रहेको छ भने मानवीय कर्तब्य र ग्रहको प्रभाव अनुसार कार्य नगर्दा कार्यमा अवरोध, कठिनाइ तथा समस्या बनाउने नकारात्मक प्रभाव पारेर समस्या बनाउने मान्यता रहेको छ। शनि ग्रह गुरु बृहस्पतिको राशिमा प्रवेश गर्दा त्यति नकारात्मक असर नदेखिए पनि मानव जीवनमा यसका विभिन्न प्रभावहरू पर्ने शास्त्र मा उल्लेख गरिएको छ।
शनिदेवको पूजा गर्नु आवश्यक रहेको ज्योतिषीहरुले उल्लेख गरेको पाइन्छ। त्यसैगरी नकारात्मक प्रभाव हटाउन हनुमानको पूजा गर्ने, हनुमान चालिसा पढ्ने, शनिदेव लाई तेल, तिल, कालो वस्त्र चढाउने गरिब असहाय वर्गलाई भोजन गराउने, भुस्याहा कुकुरलाई खाना खुवाउने गरेमा पनि शनि प्रसन्न भई नकारात्मक असर कम गराउन सहयोगी हुने ज्योतिष शास्त्रमा उल्लेख भएको पाइन्छ।
नवग्रह मन्दिरमा यस दिनमा हनुमान चालिसा वाचन, भजन किर्तन समेत गरिने भएकाले सम्पूर्णलाई नवग्रह मन्दिरमा हुने शनि देव को विशेष पूजामा सहभागि हुन अर्जुन चौपारी गाउँपालिका प्रशासकीय अधिकृत कौशल पाण्डेले सहभागिताको लागि अनुरोध गर्नुभएको छ। उहाले शनिको असर कम गर्न पूजा मा सहभागी भई सूर्य ग्रहण लाग्ने चैत्र १६ गते शनिबार नवग्रह मन्दिरमा विशेष पूजा हुन लागेको बताउनुभयो।
गण्डकी प्रदेश पोखराबाट करिब ५२ किलोमिटरको दुरीमा रहेको नवग्रह मन्दिर स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। नवग्रह मन्दिर वरिपरि मनमोहक दृश्य पनि रहेको हुँदा मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान सँगै पर्यटकिय प्रभाव पार्ने खालको बाताबरण र त्यहाबाट देखिने सुन्दर दृष्य हरुले पर्यटकिय आकर्षण बढाएको छ भने करिब डेढ लाख बढीले मन्दिरको दर्शन गरिसकेको अनुमान गरिएको छ ।