काठमाडौं, ८ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिभिन्न समूदायका हक, अधिकारका बिषयलाई कार्यान्वयन गराउन कांग्रेस प्रतिवद्ध रहेको बताउनुभएको छ ।
शुक्रबार पार्टी कार्यालय सानेपामा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै देउवाले अपाङ्गता भएको व्यक्ति लगाएत समूदायका हक, अधिकारलाई थप सुनिश्चित गर्न कांग्रेस प्रतिवद्ध रहेको बताउनुभयो ।
लोकतन्त्रले मात्र सबै वर्ग, क्षेत्र, लिङ्ग, वर्ण वा समुदायको हकहितको रक्षा गर्दछ भन्ने कुरा नेपालको आफ्नै अनुभवले प्रष्ट भएको उहाले बताउनुभयो । सभापति देउवाले २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि मात्र अन्य क्षेत्रले झै अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न पनि नेपालमा ठोस कदम चालिएको धारणा राख्नुभयो ।
उहाले नेपालको वर्तमान संविधान अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, रोजगारी, सहज र सुलभ जीवनयापनको पक्षमा उभिएको र अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकारप्रति समेत संवेदनशील रहेको उल्लेख गर्नुभयो । सरकारले चाहेर पनि अपाङ्गता भएका व्यक्तिहरुलाई पर्याप्त सेवा सुविधा दिन नसकिरहेको तर्फ सचेत रहेको भन्दै सभापति देउवाले मुलुकको आर्थिक विकाससँगै यस क्षेत्रको सेवा, सुविधा र रोजगारी अभिवृद्धिमा प्राथमिकता दिन दृढ रहेको बताउनुभयो ।
त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अपाङ्गता भएका व्यक्तिहरुले ह्वीलचेयर चढेर विदाई गरेको राजसंस्थाको रथ चढेर फर्कर्ने सपना कहिल्यै पुरा नहुने उल्लेख गर्नुभयो । उहाले हालैसम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पनि गणतन्त्रपक्षधरहरुकै पक्षमा नजिता आएको उल्लेख गर्नुभयो । उहाले अहिलेको संविधानले सवैलाई बोल्न पाउने अधिकार दिएकाले पूर्वराजाको पक्षमा पनि खुलेर बोल्न पाएको बिषयलाई नभुल्न सुझाव दिनुभयो ।
कार्यक्रममा अन्य नेताहरुले राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको महाधिवेशनले समावेशी लोकतान्त्रिक अभियानलाई प्रवद्र्धन गर्न तथा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारलाई थप स्थापीतका लागि थप मार्गनिर्देश गर्ने धारणा राखेका थिए ।