काभ्रेपलाञ्चोक , ११ चैत । काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक र साँस्कृतिक नगरी पनौतीमा साँस्कृतिक तथा व्यापारिक महोत्सवको आयोजना हुने भएको छ ।
“नेपाली मौलिक संस्कृतिको छुट्टै पहिचान, संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने हाम्रो अभियान” भन्ने नाराका साथ राष्ट्रिय लोक सास्कृतिक प्रतिष्ठान नेपालले प्रथम पनौती सांस्कृतिक तथा व्यापारिक महोत्सव आयोजना गर्न लागेको हो । सोमबार पनौतीमा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले महोत्सव चैत्र २१ गतदेखि बैंशाख ३ गतेसम्म चल्ने जानकारी दिएको छ । महोत्सवले पनौतीको गौरवमय इतिहासलाई उजागर गर्दै आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ । पनौतीको कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक र हस्तकलाको जीवन्त प्रदर्शन गर्दै स्थानीय कला, संस्कृति, घरेलु उद्योगलाई प्रोत्साहन र प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको राष्ट्रिय लोक सास्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।
त्यस्तै पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापाले पनौतीको सांस्कृतिक वैभव र व्यापारिक सम्भावनालाई विश्वसामु चिनाउने अवसरको रुपमा महोत्सवलाई अघि बढाइएको जानकारी दिनुभयो ।
महोत्सवमा कृषि उत्पादन, स्थानीय हस्तकला र घरेलु सामग्रीका आकर्षक व्यापारिक स्टलहरु रहने आयोजकले जनाएको छ ।