क्रान्ति अर्याल
स्याङ्जा,१३ चैत । स्याङ्जाको आँधीखोला गाउँपालिकामा एकै दिन दुई वटा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष विश्व पौडेलले वडा नं. २ र ५ को सिमानामा पर्ने वहिया झोलुङ्गे पुल र वडा नं. २ र ६ को सिमानामा पर्ने सम्धीखोला झोलुङ्गे पुलको शिलान्यास गर्नुभएको हो ।
विगत आठ वर्षदेखि स्थानीयवासीले पुलको आवश्यकताबारे विभिन्न निकायमा माग गरिरहेका थिए तर खोलाले आफ्नो पुरानो बहाव परिवर्तन गरेपछि पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न समस्या भएको थियो । अन्ततः आवश्यक बजेटको व्यवस्था भएसँगै पुल निर्माण कार्य अघि बढ्न लागेको हो ।
शिलान्यास गरिएका मध्ये पहिलो एन.टाइपको वहिया झोलुङ्गे पुल हो, जसको लम्बाइ १२० मिटर रहेको छ । यो पुल निर्माणका लागि प्रदेश सरकारबाट दश लाख तथा आँधीखोला गाउँपालिकाबाट ६० लाख गरी कुल ७० लाख रुपैयाँको लागत साझेदारी गरिएको गाउँपालिका अध्यक्ष विश्व पौडेलले जानकारी दिनुभयो ।
वहिया झोलुङ्गे पुलले आँधीखोला गाउँपालिका वडा नं.२ र ५ का बासिन्दालाई प्रत्यक्ष रूपमा लाभ पुग्नेछ । पुल निर्माणपछि २०० घरधुरीका १,१०६ जनसंख्याले सुरक्षित आवतजावत गर्न सक्नेछन् ।
त्यस्तै, १२० मिटर लम्बाइ रहेको सम्धीखोला झोलुङ्गे पुल पनि वडा नं. २ र ६ लाई जोड्ने महत्वपूर्ण पूर्वाधार बन्नेछ । अनुमानित ३३,९१,४४५ रुपैयाँ लागतमा निर्माण हुने यो पुलबाट १३० घरधुरीका ७०५ जनसंख्याले लाभ लिनेछन् । पुल निर्माणका लागि प्रति मिटर लागत अनुमान १,४१,३१०.२४ रुपैयाँ पर्नेछ ।
पुल निर्माणको सामाजिक तथा प्रविधिक सहयोग अन्धा अन्धी सामुदायिक विकास केन्द्र, स्याङ्जाले गरेको छ । त्यसैगरी निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई ओहोर(दोहोरमा सहजता हुनेछ । त्यस्तै यातायातको सहज पहुँचले आर्थिक तथा सामाजिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको पालिकाले जनाएको छ ।