काठमाडौं, १८ चैत । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान, २०७२ त्रुटीपूर्ण रहेको भन्दै पुनर्लेखन गर्नुपर्ने बताएका छन् । सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेस–कम्युनिस्टहरूको व्यवस्था र संविधानप्रति प्रतिवद्धता नदेखिएको कारण व्यवस्थामाथि प्रहार भइरहेको उनको भनाइ छ ।
आफैंले ल्याएको संविधानमा संघीय लोकतान्धिक गणतन्त्र लेख्ने तर त्यसको कार्यान्वयन नगर्ने हो भने त्यो संविधान कसरी टिक्छ ? भन्दै उनले प्रश्न गरे ।
‘कांग्रेस–कम्युनिस्टहरूको प्रतिबद्धता नदेखिनु पनि कमजोरी भएको छ । आफैं ल्याएको संविधानमा संघीय लोकतान्धिक गणतन्त्र लेख्ने तर त्यसको कार्यान्वयन नगर्ने हो भने त्यो संविधान कसरी टिक्छ ?,’ उनको प्रश्न छ ।
सरकारले बलियो भएर मुलुकमा सुशासन कायम गर्नसके मात्र व्यवस्था सुदृढ हुने उनको भनाइ छ ।
‘संविधानलाई संशोधन गरेर पुनर्लेखन गर्ने कुरा छ । संविधानलाई संशोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्छ । सरकार समेत बलियो भएर भ्रष्टाचार नियन्त्रण हुनुपर्छ,’ यादवले भने ।