युवराज पौडेल
स्याङ्जा,१८ चैत । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालद्वारा स्याङ्जा जिल्लाको काजिमान हरिटीका माध्यमिक विद्यालय सम्मानित भएको छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालद्वारा स्याङ्जा जिल्लाको काजिमान हरिटीका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ई अनुप श्रेष्ठ र विद्यालयका प्रधानाध्यापक ऋषिराम शर्मा सम्मानित हुनुभएको हो ।
महासङ्घको सामुदायिक विद्यालय सुधार अभियान हामी सुधार्छौं हाम्रो विद्यालय राष्ट्रिय अभियानु अन्तर्गत यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ई अनुप श्रेष्ठको सक्रियता र विद्यालयले छोटो समयमा गरेको परिवर्तनको मूल्याङ्कन गरी उक्त सम्मान दिइएको महासङ्घले जनाएको छ ।
काजिमान हरिटीका माविमा शिक्षक कक्षाकोठा शुक्रबार अतिथिसहित विद्यार्थीको कार्यक्रम बुक फ्रि फ्राइडे सामाजिक प्रयोगशालाको अवधारणा मनोवैज्ञानिक शिक्षण आदिका माध्यमबाट शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार भएको छ भने विद्यालयको भौतिक अवस्थासमेत सुध्रिएको छ ।
”सामुदायिक विद्यालयलाई सुधार्न सकिन्छ तर हामीमा दृढ इच्छाशक्ति र मिहिनेत हुनुपर्दछ । म एक्लैको प्रयासले नभई प्रअ शिक्षक र अभिभावकको टिमवर्कले विद्यालयमा परिवर्तन आएको हो ।” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
गाउँको विद्यालय बिग्रेको देखेर सधैँ चिन्ता लाग्थ्यो । अहिले आफैले नेतृत्व गर्न पाउँदा अवसर र चुनौती दुवै थपिएको उहाँले बताउनुभयो । स्याङ्जाको यस विद्यालयमा श्रेष्ठको नेतृत्वले उदाहरणीय कार्य गरेको र अन्य विद्यालयका लागि पनि यो सिकाइ हुने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख विश्वराज आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आवश्यकताअनुसारको सिकाइ र नविन सोच, शैक्षिक सामग्रीसहितको प्रयोगात्मक सिकाईको थालनी, विभिन्न अतिरिक्त क्रियाकलापमा जोड विद्यालयलाई विद्यालयले अपनाएको छ । व्यवस्थापन समितिको अध्यक्ष निरन्तर खट्ने र टिमवर्क मिल्ने हो भने केही फरक गर्न सकिन्छ भन्ने गतिलो उदाहरण काजिमान हरिटीका बनेको छ ।”