काठमाडौं ,१९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्यान्ड जाँदैहुनुहुन्छ। थाइल्यान्डको राजधानी बैंककमा हुने बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास) को छैटौं शिखर सम्मेलनमा नेपालको सहभागिता जनाउन प्रधानमन्त्री ओली दिउँसो १ बजे त्यसतर्फ जानुहुन्छ ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा थाई प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुने र पर्यटन तथा संस्कृतिका सन्दर्भमा दुईवटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ। साथै दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्र बीचको ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने प्रधानमन्त्रीले सोमबार संसद्मा जानकारी गराउनुभएकाे छ।
द्विपक्षीय वार्तापछि थाई समकक्षीसँगै संयुक्त प्रेस ब्रिफिङमा भाग लिने र थाई राजासँग भेटवार्तापछि थाइल्यान्डको एकदिने औपचारिक भ्रमण समाप्त हुने उहाँको भनाइ छ। उक्त भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि जाने छन्। भारतीय विदेश मन्त्रालयले जनाएअनुसार प्रधानमन्त्री मोदी भने २० चैत्रमा नै बैंकक जाँदै छन्। मोदीसँग भने भेटवार्ताको समय तय भइनसकेको प्रधानमन्त्री ओलीले बताउनुभयाे ।
नेपाल–थाइल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षको इतिहासमा नेपाली प्रधानमन्त्रीको स्तरबाट थाइल्यान्ड भ्रमण हुन लागेको हो। यो विषयमा प्रधानमन्त्रीले भने, ‘यसबीचमा यति नजिकको र ट्रान्जिट पोइन्टजस्तो त्यहीँबाट यता जाने, उता जाने तर औपचारिक भ्रमण चाहिँ नभएको अवस्था रहेछ। त्यसलाई अन्त्य गर्न यसपटक नेपालको तर्फबाट कार्यकारी प्रमुखको औपचारिक भ्रमण यो पहिलो पटक हुँदैछ। यस अर्थमा यो भ्रमण आफैंमा महŒवपूर्ण हो भन्ने ठान्दछु।’
प्रधानमन्त्री ओलीका अनुसार २१ चैत्रमा उनले थाइल्यान्डका प्रतिष्ठित व्यापारीहरूसँग भेटघाट–छलफल र दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्ने तालिका छ। त्यसपछि उनी डिनरमा सहभागी हुनेछन्।
प्रधानमन्त्री ओली २१ चैत्र दिउँसो हुने बिमस्टेक शिखर सम्मेलनमा सहभागी भएर नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। त्यसअघि बिहान ‘मेरिटाइम ट्रान्सपोर्ट कोअपरेसन अग्रिमेन्ट’ मा हुने हस्ताक्षर समारोहमा सहभागी हुनेछन्। २१ चैत्र साँझ नेपाली दूतावासमा आयोजना गरिएको रिसेप्सन (रात्रिभोज) मा सहभागी भएसँगै प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमण समाप्त हुनेछ।