काठमाडौं , ३० चैत । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउँछु भन्नेहरुको प्रयास सफल नहुने बताउनुभएको छ ।
एमाले रुपन्देही जिल्ला कमिटीले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै ओलीले एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरु सफल नहुने बताउनुभएको हो । एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी विदेशी प्रतिक्रियावादी स्वार्थी तत्वहरुले एमालेलाई विभाजनको कोशिश गर्नेहरु असफल भएको उहाले बताउनुभयो । प्रधानमन्त्री ओलीले मान्छेको घरमा आगो लगाएर र पसलबाट चोरेर भाग्नेहरुले क्रान्ति र परिवर्तनका लागि केही गर्न नसक्ने धारणा राख्नुभयो ।
उहाले राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अहिलेको सरकारले आफ्ना सबै प्रयास गरिरहेको बताउनुभयो ।
अहिलेको आधुनिक समयमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा पछि लाग्नु बेक्कार भएको जनाउँदै उहाँले लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउँदै जनताको समृद्धि र विकासलाई तीव्र गति दिन वर्तमान संयुक्त सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।
उहाले देशका ठुला दलहरु नेपाली काँग्रेस र एमालेले मुलुकलाई स्थायित्व दिन र देशलाई परिवर्तनका लागि सरकार बनाएकाले गठबन्धन आगामी निर्वाचनसम्म जाने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले उपयुक्त शिक्षा ऐन छिटै ल्याउने भन्दै सडक प्रदर्शनमा जानुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।