पूजा खड्का
स्याङ्जा, २ वैशाख । “उद्यमशीलता,वित्तीय साक्षरता र डिजिटल फ्रिलान्सिङ्ग सीप” भन्ने मूल नाराका साथ स्याङ्जा थिङ्क ट्यांकको आयोजनामा दोस्रो स्याङ्जा शिक्षा, सीप तथा उद्यमशीलता मेला २०८२ वैशाख १ गते देखि सञ्चालन भएको छ। स्वदेशमै संघर्स र मिहिनेत गरेको खण्रडमा प्रसस्त सम्भावना छन् भन्ने सन्देश फैलाउनको लागि थिङ्क ट्यांकले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रम वैशाख १ गते देखि ३ गते सम्म वालिङ्ग मोड स्याङ्जामा भइरहेको संस्थाका अध्यक्ष दिनकर नेपालले जानकारी दिनुभयो । मेलामा स्याङ्जाका विद्यार्थी, युवा, शिक्षक, महिला समुह उद्यमीहरु लक्षित बिभिन्न कार्यक्रमहरू भएका छन् ।
कार्यक्रम उपलब्धि मुलक बनाउन सचेतना अभियान लाई प्राथमिकता दिइएको छ । जसमा वक्तृत्वकला कविता प्रतियोगिता सहित उद्यमशीलता सम्बन्धी बहस, वित्तीय साक्षरता र प्रशिक्षण कार्यक्रमलाई जोड दिएर अघि बढाइएको संस्थाका अध्यक्ष नेपालले जानकारी दिनुभयो। त्यसैगरी समाजमा नकारात्मक धारणा लाई चिर्दै नेपाल भित्र केही गर्न सकिन्छ संघर्स र मिहिनेत गरेको खण्डमा सम्भावना छन् कोसिस गर्नुपर्छ भन्दै सकारात्मक कार्य गरेका नेतृत्व वर्गलाई पनि उहाँहरूको योगदानको हिसाबमा सम्मान गर्न र पहिचान बढाउन आबस्यक रहेको बताउनुभयो । उहाँले विविध क्षेत्रमा क्रियाशील र सही योगदान गरेका व्यक्तिलाई सम्मान गर्दा नयाँ तथा युवा पुस्तालाई फरक प्रभाव पर्ने बताउदै केही गर्नुपर्छ भन्ने विश्वास दिलाउनको लागि नकारात्मक भ्रम लाई चिर्ने उद्देश्य सहित विद्यार्थी देखि शिक्षक, महिलादेखि उद्यमी सम्म युवाहरुको लागि सिक्ने र बढ्ने अवसर प्रदान गर्ने हेतुले स्थानिय सीप र उद्यमलाई एकै प्लेट फर्ममा ल्याउने प्रयास गर्दै “सपना देखौ सीप सिकौ उद्यम गरौ स्याङ्जा बाट सुरु गरौं” भन्ने अभिप्राय सहित कार्यक्रम अघि सारिएको बताउनुभयो।
कार्यक्रम मा वैशाख १ गते उदघाटन दिवस सम्पन्न भएको हो भने प्रमुख अतिथि वरिष्ठ लेखक देवी प्रसाद वनवासी रहनुभएको थियो । थिङ्क ट्याङ्कले आयोजना गरेको दोस्रो स्याङ्जा शिक्षा, सीप तथा उद्यमशीलता मेला २०८२ का अवसरमा विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा सामाजिक, राजनैतिक, धार्मिक, शैक्षिक, औद्योगिक, आर्थिक, कृषि, प्रशासनिक लगायत विविध क्षेत्रलाई समेटेर कुशल र क्रियाशील नेतृत्वलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित हुनेहरूमा माधवप्रसाद लम्साल, प्रकाश तिवारी, बोधराज अर्याल, चन्द्रकला राना, भरतराज ढकाल, कला गैह्रे, शान्ता थापा, राजु कार्की, माधव प्रसाद उपाध्याय, डा. दिनेशकुमार विक, चैतन्य कृष्ण, राजेन्द्र डुम्रे, नविन राज गैह्रे, ज्ञान पाण्डे, अनन्त कुमार श्रेष्ठ, राजेन्द्र प्रसाद पाण्डे, दिलिप थापा, बाह्रबिसे बजार संरक्षण समिति गरी १६ जना र १ जना समितिका सदस्य गरी १७ जना सम्मानित हुनुभएको छ। सम्मानित व्यक्तिहरुले आ–आफ्ना क्षेत्रमा गरेको संघर्ष र अनुभबहरुका बारेमा जानकारी गराउनुभएको थियो।
कार्यक्रममा स्याङ्जा थिङ्क ट्यांकका संस्थापक तथा सिईओ भोजन अर्यालले उद्यमशीलता र इकोसिस्टमका बारेमा प्रकाश पार्नुभएको थियो भने थिङ्क ट्याङ्कका संस्थापक सदस्य विवेक बस्यालले संस्थाको स्थापना, यसका उद्देश्य र कार्ययोजनाका विषयमा प्रकाश पार्नु भएको थियो । वालिङ्ग मल्टिपल आइटी कलेज र आँधीखोला पोलीटेक्निक इन्ष्टिच्युटको सह आयोजना र गरिमा विकास बैंकको मुख्य प्रायोजनमा उक्त कार्यक्रममा शिक्षा नेतृत्व ग्रामीण विद्यालयको सुधार महिला नेतृत्वका विषयमा जोड दिएर कार्यक्रम अघि सारिएको छ ।