४ वैशाख, बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गभर्नर नियुक्तिमा ढिलाइ नगर्न सरकारलाई सुझाव दिएका छन् ।
स्वार्थ समूहको बिगबिगी भइरहेको बताउँदै उनले मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गरेर अर्थतन्त्रमा देखा परेका गम्भी समस्याको समाधानका लागि पहल गर्न सरकारलाई सुझाव दिएका हुन् ।
रुपन्देहीमा बिहीबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गभर्न नियुक्तिको विषयमा दलहरुबीच नभइ बिचौलियाबीच कुरा नमिलेको दाबी गरे । त्यसै कारणले ढिला भएको उनको दाबी छ ।
‘अहिले गभर्नरको विषयमा बिचौलियाको बीचमा तानातान छ । तपाईंहरुलाई लाग्छ होला पार्टीहरुको बीचमा भागबन्डा मिलेको छैन । तर, कुरा नमिलेको बिचौलियाको बीचमा हो’, उनले भने, ‘यो समूहको हुने कि त्यो समूहको हुने भन्ने टुंगिएको छैन । उनीहरुले कहिले कांग्रेसलाई कहिले एमालेलाई पक्डेका छन् । त्यसैले ढिलो भइराखेको छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकार पनि बिचौलियाको स्वार्थ अनुसार नै काम गरिरहेको बताउँदै राम्रो काम गर्ने इमानदार कर्मचारीहरुलाई प्रताडित गर्ने, अपमानित गर्ने र निकाल्ने र नराम्रोलाई भर्ती गर्ने काम भइरहेको बताए ।