काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख ११ गते राजतन्त्र फालेर गणतन्त्र स्थापना भएको अवसरमा आयोजना हुन लागेको युवा महोत्सवमा सहभागी हुन अपिल गर्नुभएको छ ।
बिहीबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हाे ।
‘हामी ११ गते राजाले अधिकार खोसेको थियो । जनतालाई फेरि रैती बनाएको थियो । हिजो/अस्ति ०६३ साल वैशाख ११ गतेसम्म राजाले अधिकार खोसेर रैतीमा परिणत गरेको थियो । त्यसलाई परास्त गरेर जनताका अधिकार जनतामा ल्याएर विजय हासिल गरेको दिन थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस दिन हामीले महोत्सवको रुपमा युवा महोत्सव मनाउँदैछौं । त्यसमा हामी सबैको सहभागीताका लागि पनि आग्रह गर्न चाहन्छु ।’
साथै, उहाँले देशको विकास र समृद्धिका लागि एमाले कस्सिएर अघि बढेको दाबी पनि गर्नुभयाे ।
‘अगुवाइ गर्न नेकपा एमाले कस्सिएको पनि छ । गरिरहेको पनि छ । नीतिगत कुरामा नेकपा एमाले एकदमै स्पष्ट छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हरेक प्रश्नमा नेकपा एमाले स्पष्ट छ । राष्ट्रि नीति के गर्नुपर्छ भन्ने कुरामा नेकपा एमाले स्पष्ट छ ।’
संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट उहाँले पार्नुभयो।