शिक्षा मानिस भित्रको ज्ञान र सम्भावनालाई प्रस्फुटन गर्ने साधन हो । यसको उद्देश्य व्यक्तिलाई चरित्रवान, आत्म निर्भर र समाजको लागि उपयोगी बनाउनुपर्छ भन्ने हो। शिक्षा लाई सार्थकता दिने काम शिक्षकले गरेको हुन्छ। शिक्षक समाज रुपान्तरण गर्ने पथप्रदर्शक हो। त्यसै गरी राज्यले शिक्षा र शिक्षकको महत्व बुझ्दै आफ्नो दायित्व पूरा गर्न उत्तिकै लगाव राख्नुपर्ने हुन्छ भने गलत प्रवृत्ति विरुद्व रोक्न सक्ने र सही विषयमा प्रोत्साहन गर्ने मार्ग खुला गर्न सक्नुपर्छ।
स्वामी विवेकानन्दका अनुसार शिक्षा भनेको मानिसमा भएको पूर्णतालाई अभिव्यक्त गर्ने एक प्रक्रिया हो। मानिस भित्र असीमित ज्ञान अन्तर्निहित रहेको हुन्छ त्यसलाई बाहिरी संसारले प्रेरणा दिने काम गर्छ यसको लागि शिक्षकको उत्तिकै महत्व रहेको हुन्छ । यसै सन्दर्भमा न्यूटनको गुरुत्वाकर्षणको सिद्धान्त एक उत्कृष्ट उदाहरण हो । गुरुत्वाकर्षणको ज्ञान बाहिर कतै लुकेको नभई न्यूटनको आत्मामा रहेको विवेक थियो। जुन बाहिरी परिस्थितिले मात्र त्यो ज्ञानलाई उजागर गर्यो र त्यसैले प्रत्येक आविष्कार र खोज मानिस भित्रको ज्ञानको उपज हो भन्ने पुष्टि गर्यो।
मानिसभित्र असीमित ज्ञान भएतापनि अज्ञानताको आवरणले यसलाई ढाकेको हुन्छ । त्यही अज्ञानताको आवरण तथा पर्दा हटाउने काम शिक्षकले गरेको हुन्छ । शिक्षा भनेको यही आवरण हटाएर आत्म ज्ञानलाई प्रस्फुटन गर्ने प्रक्रिया हो । जसको आत्माबाट अज्ञानता को आवरण हटेको हुन्छ ऊ ज्ञानी बन्छ । पूर्ण रूपमा अज्ञानताको नाश गराउने काम शिक्षकले गरेको हुन्छ र मानिस विवेकी र ज्ञानी हुन सक्छ । शिक्षा लिने दिने सवालमा शिक्षकको भूमिका एक पथ प्रदर्शक को रूपमा रहेको हुन्छ।
अमेरिकाका समाज सुधारक अभियानकर्ता मार्टिन लुथर किङ ले कुनै पनि राष्ट्रको सम्पन्नता न त धेरै राजस्व सङ्कलन गरेर हुन्छ न सुदृढ सुरक्षा व्यवस्था न सुन्दर सरकारी भवन बनाएर हुन्छ, देशमा साँच्चिकै सम्पन्नता त त्यहाँका सुशिक्षित एवं चरित्रवान नागरिकहरूबाट आउँछ । शुशिक्षित र चरित्रवान मानिसमा मात्र देशको सच्चा हित र शक्ति रहने उल्लेख गरेका थिए। सुशिक्षित र चरित्रवान बनाउने काम एक कुशल शिक्षकको योगदान हो।
हाम्रो देशमा शिक्षा लिने दिने कामलाई व्यक्तित्व निर्माण र राष्ट्र निर्माण को सम्बाहकको रुपमा जोड्न नसक्नु दुःखद विषय रहेको छ। आजसम्म जे जति भएका छन् ती सबै कागजी हिसाबमा मात्र अघि बढेका छन् । जसको फलस्वरूप बढ्दो साक्षरता सँगै उछृंखल जमात बढिरहेको छ भने व्यावहारिक शिक्षा नहुँदा बेरोजगार को समस्या ले गर्दा देश भित्र केही जमात अराजक फैलाउन र नकारात्मक संदेश प्रबाह गर्न मा प्रेरित भइरहेको छ। यस्तो पिँढीलाई देशको माया, मूल्य, मान्यता, संस्कृती, संस्कार सँग कुनै चासो नै देखिएको पाइँदैन । उनीहरूको राष्ट्र प्रति सदभाब नै देखिँदैन । यसको प्रमुख कारण राष्ट्र भित्र अवसर प्राप्ति गर्न नसक्नु युवा रोजगारको लागि विदेशिनु पर्ने र सक्षम भएर पनि आरक्षण का आधारमा कोटा निर्धारण हुँदा विभेद भएको ठानी यि यस्ता प्रवित्ति बढेको देखिन्छ। यसको लागि यथार्थ चित्रण गरेर सदभाब सहित विवेकी तवरमा अघि बढाउनको लागी राष्ट्र प्रति सदभाब र माया हुनुपर्छ, वैदेशिक क्षेत्रमा गरिने खर्च र लगाव आफ्नो देशमा खर्चिन सक्यो भने आफ्नो देश बनाउन सकिन्छ । आफूले अवसर प्राप्त गर्न नसके पनि नया पुस्ताले देशको माटोमा पसिना बगाएर अघि बढ्न सक्छन् भन्ने धारणा बनाउनको लागि एक योग्य शिक्षक नै कामयाब रहन्छ ।
हाम्रो देशको शिक्षा नीतिले देशको सांस्कृतिक नैतिक समानता तथा लोकतन्त्रको सुरक्षा गर्नु को साथै वैज्ञानिक दृष्टिकोणलाई अघि बढाउने उद्देश्य सहित अघि बढ्नुपर्ने ठाउँ मा विद्यार्थीलाई त्यस्तो शिक्षा दिन सकिरहेको छैन ।अझ देशको पहिचान खुल्ने गरी सामाजिक आर्थिक नैतिक मूल्य मान्यता कायम राख्ने प्रतिबद्ध नागरिक उत्पादन गर्ने पाठ्यपुस्तक नै नहुनु विडम्बनाको विषय भएको छ। यस्तो स्थितिमा भावी पुस्तालाई चरित्र निर्माण र कर्तव्यनिष्ठताको पाठ कसले पढाउने समस्याको विषय भएको छ। त्यसैले शिक्षकहरू पनि अझ् बढी जिम्मेवार हुनु आवश्यक छ। शिक्षकहरुले आफ्ना प्रयासबाट विद्यार्थी हरूलाई जीवन मूल्य देशप्रेमी भाब, इमानदारिता, त्याग, समर्पण, निष्पक्षता जस्ता कुरा सिकाउनु आवश्यक रहेको छ। जुन ज्ञानको अनुसरण गरेर विद्यार्थीहरूले सेवा, मानवीयता, त्याग, कर्तव्यनिष्ठ भएर कार्य गर्ने सक्ती, विवेक, आत्मबल तथा विवेकशील गुण विकास गर्न हौसला बढ्नुको साथै राष्ट्र प्रति केही गर्नुपर्छ भन्ने भाब पैदा हुन सकोस् ।
चरित्रवान नागरिकमा देशको भविष्य निर्भर रहनुको साथै देश निर्माणमा अतुलनिय भूमिका रहेको हुन्छ। कमजोर चरित्र र गहिरो सोच नभएका नागरिकले उन्नत देश बनाउन सक्तैनन् । देशको विकास र संस्कारको लागि उच्च चरित्र भएका नागरिकहरू आवश्यक पर्दछन् । नागरिकको चरित्र निर्माण द्वारा नै देशको चरित्रको विकास गर्न सकिन्छ । सही चरित्र, दूरदर्शिता र सही नेतृत्व हुन सकेन भने समुन्नत बनाउन सकिँदैन ।
एउटा शिक्षकले युग बदल्न सक्छ, समयको धार परिवर्तन गर्न सक्छ अनि ठूल्ठूला साम्राज्य पनि ढाल्न सक्छ । तक्षशिला गुरुकुलका आचार्य चाणक्यको शिक्षा, दृढता र लगनले भारतबाट अलेक्जेन्डर भाग्नुपर्यो । उनकै कुशल शिक्षा र नीतिले तानाशाही मगध साम्राज्य ढलेर मौर्य साम्राज्य खडा भयो । उनले राज्य सञ्चालनको समग्र पक्षको नीति लिपिबद्ध गरे । त्यसैले विश्वका उत्कृष्ट शिक्षकमा चाणक्य पर्दछन् । आज पनि राजनीति, अर्थनीति, समाज नीति, विदेश नीतिमा चाणक्य नीतिको चर्चा हुन्छ । शिक्षक लाई एक पेशा मात्र नभई शिक्षाको ज्योति फैलाउने समाज सुधार गर्ने समाज रुपान्तरण गर्ने पथ प्रदर्शक को रुपमा चिनिन्छ । समाजका हरेक वर्ग, अङ्ग र क्षेत्रलाई सत्मार्गको बाटो देखाउने स्रोत शिक्षक हो। सरकारले यस वर्गलाई पाखा लगाएर कसरी देशको समृद्धि खोजिरहेको छ विडम्बनाको विषय रहेको छ। त्यसै ले शिक्षक लाई एक सम्बाहक सम्झेर गलत प्रवृत्ति का बिरुद्द सावधान तवर मा अघि बढ्न अनुगमन र मूल्यांकन गरी अघि बढ्न सरकार तत्पर रहन सक्नुपर्छ।
शिक्षकका सबै माग सही नहोलान् भने कति माग सरकारले पुरा गर्न नसक्ला तर सरकारले सम्झौता गरेका माग पूरा गर्न नसक्नु दुःखद विषय हो भने अहिले उठेका जायज माग हेरिकन समाधानका लागि अघि बढ्न आवश्यक विषय पनि हो। त्यसैगरी सरकारले आफूले नसक्ने माग माथि समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । यसको लागि सर्वदलीय बैठक बस्नुपर्ने पनि आवश्यकता रहन्छ । जुन सरकार आए पनि नीतिहरु विधिसम्मत चल्नुपर्छ। यसको लागि समय मा नै विवेक पूर्ण निर्णय लिएर अघि बढ्नुपर्ने देखिन्छ। नसक्ने माग माथि आशा देखाउने काम गर्नुहुँदैन ।
अहिले शिक्षक आन्दोलनमा आन्दोलनरत शिक्षक ले हामी कुनै नयाँ माग लिएर आएका होइनौ, कुनै मन्त्री पद चाहिएर पनि आएका होइनौ तर सरकार ले प्रतिबद्धता गरेका माग पूरा गरोस् भनेर आएका हौ भनेर उल्लेख गर्नुभएको छ। यसको लागि शिक्षा नीति ल्याउनुपर्छ भन्ने प्रतिबद्धता गरिएका बाचा पुरा गर्न सरकार किन नसक्ने किन निरिह बनेर बस्ने यो दुःखद विषय हो। गरिएका बाचा र सम्झौता समय मा नै पूरा गर्दिएको भए यो स्थिति आउने थिएन । अहिले सबै विद्यालय बन्द भएर पठनपाठन ठप्प हुनु समस्या को विषय भएको छ। लामो समय हुँदा पनि सरकार ले दत्तचित्त भएर ध्यान नदिनु विडम्बनाको विषय भएको छ।
कुनै पनि देश तथा समाजको शिक्षा लाई ठप्प बनाउनु नै विकासको मार्ग बन्द गर्नु तल्लीन रहनु हो । शिक्षालाई पछि पारेर देश विकास हुन सक्दैन समय मै सरकारले गम्भीर भएर मार्ग प्रसस्त गर्नु जरुरी छ। कुनै पनि देशको अर्थतन्त्रमा खलबल पुर्याउन को लागि शिक्षा नीतिमा खलबल पुर्यायो भने देश अघि बढ्न सक्दैन । त्यसैले अन्धकार हटाउन सरकार प्रयासरत रहनुपर्छ।
केही समय अघि गुरुकुल शिक्षा पद्धति थियो, त्यहाँ आजको जस्तो व्यापार व्यवसाय थिएन । गुरुकुलका शिक्षक महान् मन्त्रद्रष्टा ऋषिहरु थिए । उनीहरूले ज्ञान विज्ञानको अध्ययन अनुसन्धान गर्ने र समाजलाई ज्ञान र नीति बाँड्ने गर्दथे। आजका शिक्षकले पनि त्यसरी नै अघि बढ्न सक्नुपर्छ। जसरी चाणक्यले मगध सम्राट्को कोपको चिन्ता नगरी आफूलाई एकीकृत भारत निर्माणको बाटोमा डोयाए र कार्यमा सफल भए त्यस्तै दृढता हरेक शिक्षकले राख्ने हो भने नेपाली समाजको बाटो र माटो नै उन्नत भएर जान्छ।
जसरी कुमालेले काँचो माटोलाई आकर्षक भाँडाको आकार दिन सक्षम हुन्छ त्यस्तै गरी एउटा कुशल शिक्षक ले विद्यार्थीलाई आकार दिने काम गर्नुपर्छ। यसको उदाहरण आचार्य चाणक्य र सम्राट् चन्द्रगुप्त मौर्य काफी छन् । हरेक शिक्षकले आफूमा यस्तै दृढ इच्छाशक्ति राखेर समाजका लागि केही गर्छु भन्ने हो भने नेपाली समाजको रूपान्तरण को लागि टाढा टाढा पुग्नुपर्दैन । यसै पनि हामी गुरुलाई देवता कै रूपमा पूजा गर्ने संस्कृतिका अनुयायी हौँ।
तर आजभोलि शिक्षकले हिजोको त्यो मर्यादा राख्न सकेको पाइँदैन । शिक्षण भनेको आफ्नो दैनिकी चलाउने पेसाका रूपमा मात्रै हेर्न थालिएको छ । यसका लागि आफ्नो मर्यादा, सामाजिक जिम्मेवारी सबै भुलेको पाइन्छ । त्यसैले शिक्षक ले पनि पेशा मात्र नभई आफ्नो जिम्मेवारी कर्तब्य सम्झेर अघि बढ्नु आवश्यक छ। जहाँ शिक्षक व्यवसायी, शिक्षालय व्यापारी को हालिमुहाली रहन्छ र राज्य रमिते रहन्छ भने त्यस राष्ट्र तथा समाज को विकास कसरी हुन्छ रु यथार्थ कुरा के हो भने शिक्षा निःशुल्क गर्न सके मात्र यसबाट राष्ट्रले खोजेको जनशक्ति प्राप्त हुन्छ । किनिएको शिक्षाबाट दीक्षित व्यक्ति आफ्नो लगानी उठाउने बाटो मै केन्द्रित भएको हुँदा यो सोचनीय विषय पनि बनेको छ। यस विषय तर्फ पनि सरकारको ध्यान पुग्नु जरुरी छ। समस्याको समाधान जरै बाट नियालेर के गर्दा हामी आन्दोलन बन्द गराउन सक्छौ नागरिक लाई सहज बाताबरण मिलाउन सक्छौं र समृद्ध नेपाल बनाउन सक्छौं या विषयमा जोड गर्दै सहजिकरण र निकास दिन जरुरी छ।
शिक्षक आन्दोलन का कारण उपत्यकामा सहज ढंगले सवारी साधन सञ्चालन नहुँदा सर्वसाधारण लाई सास्ती भईरहेको छ भने यसरी आन्दोलन को विकल्प नखोजी सरकार ले कुनै कदम नचाल्ने र बहिरो भएर बस्न सुहाउँदैन । आफ्नो जिम्मेवारी कसरी बहन गर्ने हो माग जायज होकी होइन के के गर्न सकिन्छ भनेर जिम्मेवारी पूर्वक सरकार पक्ष अघि बढ्नुपर्छ। शिक्षक वर्गले पनि देश मा बेरोजगार वर्ग छन् उनीहरु सङ्ग पनि कुनै सीप छ भनेर आन्तरिक प्रक्रियालाई मात्र जोड गर्नु सही विषय होइन । आयोग खुला हुनुपर्छ सबैले अवसर पाउनुपर्छ त्यसमा आन्तरिकलाई मात्र प्राथमिकता दिनु पर्छ भन्नु अरु बेरोजगारको लागि पनि समस्याको विषय हुन्छ त्यसैले विभेद गर्न पाइँदैन । विभेदको नीति राज्यले राख्न पाउँदैन। आयोग खुला हुनुपर्छ उत्कृष्टले अवसर पाउनुपर्छ । त्यसैमा सबैलाई न्याय हुन्छ ।
सरकारले पनि आन्दोलन टुंग्याउन तिर लाग्नुपर्छ भने शिक्षक हरुले विद्यार्थी हरुको भविष्य माथि समस्या निम्त्याउन हुँदैन । निजीकरण लाई निरुत्साहित गर्ने प्रयास हुँदा हुँदा शिक्षक हरु नै त्यस मा सहजीकरण बन्नु समाज को लागि राम्रो हुँदैन । त्यसैमा आफू सरकारी विद्यालय पढाउने आफ्ना छोरा छोरी निजी विद्यालय मा पढाएर समस्या निम्त्याउने काम पनि भइरहेका छन् । यी यस्ता कार्य बन्द गर्दै विद्यालय मा सहज बाताबरण बनाउनु आवश्यक छ। आयोग पास गरेर शिक्षकले पढाउने विद्यालय खाली हुनु र निजीकरण का विद्यालय मा खचाखच हुनु समस्याको विषय हो। सरकारले लगानी गरेको विद्यालय मा सेवा सुविधा र पढाइ राम्रो भएर खचाखच हुनुपर्ने ठाउँ मा विपरीत किन हुन जान्छ यस विषयमा गम्भीर भएर अनुगमन र अनुसन्धान पनि जरुरी छ। जिम्मेवारी असल तरिकाले कार्यान्वयन गरेको खण्डमा समस्या कहीं पनि रहँदैन । जब सम्बन्धित निकाय ले सम्बन्धित ठाउँ मा जिम्मेवारी बहन गर्दैनन् अनि समस्या उत्पन्न हुन्छ। यस विषय मा गम्भीर हुनु आवश्यक छ। समाधान र सहजीकरण वैकल्पिक तवरमा अघि बढ्न आवश्यक छ त्यसैले नेतृत्व गर्ने ले नेतृत्वको जिम्मेवारी र कर्मचारीले कर्मचारीको जिम्मेवारी कुशल पूर्वक पूरा गर्नु जरुरी छ। आ आफ्ना जिम्मेवारी सबैले कर्तव्यनिष्ट भएर गर्दा समस्या कहीं रहँदैन ।
पूजा खड्का
भिरकोट नगरपालिका,३ स्याङ्जा
(लेखक हेर्ने कुरा डटकम स्याङ्जा जिल्ला रिपोटर हुनुहुन्छ)