प्रजातान्त्रिक आन्दोलनमा एमालेका मान्यता सही साबित भयो : महासचिव पोखरेल

२०८२ बैशाख ९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ९ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनले नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर सहयोग पुर्‍याएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसको अवसरमा पार्टीद्वारा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले दलहरूमाथि प्रतिबन्ध लागेको अवस्थामा समेत नेपालमा कम्युनिष्ट पार्टीका नेताहरूले देशभित्रै लोकतन्त्रको लागि निरन्तर आन्दोलन गरेको स्मरण गरे ।

नेपाल कम्युनिष्ट पार्टीको निरन्तरताको रूपमा नेकपा एमाले देशको अग्रणी पार्टी भएको उनको भनाइ थियो ।

‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा हाम्रो पार्टीले अगाडि सारेका मान्यता सही साबित भएका छन्, ती मान्यताले नेपालको लोकतान्त्रिक आन्दोलनलाई बाटो देखाउने काम गरेका छन्’, पोखरेलले भने ।

संसदीय व्यवस्था विकृत भएको बेलामा पनि त्यसलाई सही बाटोमा ल्याउने नेकपा एमालेले काम गरेको उनको जिकिर छ । पोखरेलले नेपाललाई समाजवादी बाटोमा अघि बढाउने सिलसिलामा पनि एमालेको भूमिका उल्लेख्य रहेको प्रष्ट्याए ।

समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षालाई अघि बढाउने कुरामा नेकपा एमाले प्रतिबद्ध रहेको उनले बताए ।

‘यतिबेला राजावादीको नाममा पूर्वमण्डलेहरूले आक्रमण गरिरहेका छन् । त्यसलाई उजागर गर्नु सबैको कर्तव्य हो’, महासचिव पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय