गल्याङमा आँखा शिविरको प्रभाव, १९ जनाले पुनः देख्न पाए

२०८२ बैशाख ९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट


स्याङ्जा, ९ वैशाख  । आँखाको समस्याले दैनिक जीवनमा असर पुर्याउने गर्दछ । विशेषगरी बुढेसकालमा मोतियाविन्दु जस्ता रोगको जोखिम बढ्दो छ । यस्तो संवेदनशीलतालाई ध्यानमा राख्दै स्याङ्जाको गल्याङ नगरपालिकाले नगरवासीलाई लक्षित गर्दै चार स्थानमा निस्शुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

चार दिनसम्म सञ्चालन भएको शिविरमा नगरपालिकाका विभिन्न वडाका नागरिकहरूले आँखा परीक्षण, उपचार, औषधि वितरण र मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सेवा प्राप्त गरेका छन् ।

शिविरको पहिलो दिन वडा नम्बर ६ मा वडा ५ र ६ का बासिन्दालाई सेवा दिइएको थियो । त्यस्तै दोस्रो दिन वडा नम्बर ८, ९ र १० का लागि जानकी माविमा शिविर सञ्चालन गरिएको थियो । त्यस्तै तेस्रो दिन वडा नम्बर ७ का लागि पेलाकोट स्वास्थ्य चौकीमा शिविर संचालन गरिएको थियो। जहाँ २२१ जनाको परीक्षणमा १९ जनामा मोतियाविन्दु देखियो ।

अन्तिम दिन वडा नम्बर १, २, ३, ४ र ११ का सेवाग्राहीलाई लक्षित गर्दै गल्याङ नगर अस्पतालमा शिविर सम्पन्न भयो । शिविरमा ३१५ जनाको परीक्षण गरिएकोमा १९ जनाको मोतियाविन्दु शल्यक्रिया र अन्य एकजनाको आँखा समस्या सम्बन्धी शल्यक्रिया गरिएको थियो ।

कार्यक्रममा गल्याङ नगर प्रमुख गुरु प्रसाद भट्टराईले आँखा सम्बन्धी समस्या गम्भीर बन्दै गएको र नागरिकलाई स्थानीय तहमै सेवा दिने उद्देश्यले यस्तो शिविर नगरपालिकाले सञ्चालन गरेको बताउनुभयो । हिमालयन आँखा अस्पतालका डा. ईश्वर मानन्धर र दिपेश मल्ल ठकुरीसहितको टोलीद्वारा शिविर सञ्चालन भएको थियो ।

त्यस्तै नगरपालिकाले आगामी दिनमा पनि यस्ता सेवा प्रवाहलाई निरन्तरता दिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय