काठमाडौं, १२ वैशाख । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षकसंग वार्ता गर्ने सरकारको प्रयास असफल भएको छ ।
वार्ताका लागि शिक्षा मन्त्रालयले नै शिक्षकहरुको टोली बनाएको भन्दै नेपाल शिक्षक महासंघ उपस्थीत नभएपछि शिक्षकसंग वार्ता गर्ने सरकारको प्रयास असफल भएको हो । मन्त्रालयले छलफलका लागि बिभिन्न शिक्षक संघ–संगठनहरुका प्रतिनिधिलाई शुक्रबार सिंहदरबार बोलाइएको थियो । छलफलका लागि केहि शिक्षकहरु समेत मन्त्रालय पुगिसकेका थिए । तर महासंघले शिक्षामन्त्रीसंग औपचारिक भेटका लागि जाने क्रममा रहेपनि विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको उल्लेख गरेको छ ।
शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरुबाटै प्राप्त नामका आधारमा प्रतिनिधिहरुलाई सिंहदरबार बोलाइएको भन्दै त्यसमा आपत्ति भए वार्ता टोली गठन गर्न महासंघलाई आग्रह गर्नुभयो । शिक्षक महासंघले बनाउने आधिकारिक वार्ता टोलीसंग वार्ता गरि समास्या समाधान गर्न तयार रहेको मन्त्री पन्तले बताउनुभयो ।
त्यस्तै मन्त्रालय पुग्नुभएका राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमुद कुमार सिंहले सिंहदरवार गेटमा मन्त्रालयले पठाएका २५ शिक्षकको नाम देखेपछि महासंघका अध्यक्ष लगाएतको टोली फकिएको जानकारी दिनुभयो ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघ निरन्तर आन्दोलन गरिरहेको छ । आफुहरुसंग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षकहरुले शुक्रबार २४ औं पनि बिजुलीबजार क्षेत्रमा आन्दोलन जारी राखेका हुन् ।