धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा आगो लाग्यो

२०८२ बैशाख १४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जनकपुर, १४ वैशाख । जनकपुरमा दुई वटा ट्रक एकापसमा ठोक्किँदा ट्रकमै आगो लागेको छ ।  धनुषाधाम नगरपालिका वडा नम्बर– ६ मालटोलचोकमा दुई वटा ट्रक आपसमा ठोक्किएर आगलागी भएको धनुषा प्रहरीले जनाएको छ ।

आइतबार बिहान सिरहाबाट धल्केवरतर्फ जाँदै गरेको ना ६ ख ३४६३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेशको २–००१ ख ०७१५ नम्बरको ट्रक ठोक्किँदा दुई वटै ट्रकमा आगो लागेको धनुषा प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले जनाए ।

उनका अनुसार ट्रकको ट्याङ्कीमा ठोक्किएपछि तेल छताछुल्ल भएको थियो, त्यसपछि आफै ट्रकमा आगो सुल्किएको हो । आगोले ना ६ ख ३४६३ नम्बरको ट्रक पूरै जलेर नष्ट भएको धनुषा प्रहरीले जानकारी दिएको छ ।

ट्रक एकापसमा ठोक्किँदा दुवै ट्रकका चालक घाइते भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घाइते हुनेहरूमा ना ६ ख ३४६३ नम्बरको ट्रकका चालक सर्लाही लालबन्दी १५ निवासी रोशन कौशल कार्की र अर्का ट्रकका चालक सर्लाही मौलापुरका मुकेशकुमार झा रहेका छन् ।

घाइते दुवै चालकको जनकपुरस्थित एपोलो अस्पतालमा उपचार भइरहेको धनुषा प्रहरी कार्यालयले जनायो । गलत साइडमा एउटा ट्रक प्रवेश गरेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यद्यपि, दुर्घटनाबारे विस्तृत अनुसन्धान थालिएको जनकपुर प्रहरी कार्यालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार