वालिङमा नमुना बसपार्क बन्दै

२०८२ बैशाख २०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, २० बैशाख । अव्यवस्थित सवारी साधन पार्किङको समस्या भोगिरहेको स्याङ्जाको वालिङ नगरपालिकाको समस्या समाधान हुने भएको छ । वालिङ नगरपालिकाले वडा नं. ८ सित्तलनगरमा आधुनिक बसपार्कको निर्माणका लागि नगरविकास कोषको सहयोगमा बसपार्क बनाउने सम्झौता गरेसँगै अव्यवस्थित पार्किङ्को समस्या समाधान हुने लागेको हो ।

सम्भौतासँगै नमुना बसपार्क निर्माण सुरु भएको छ । वालिङ नगरपालिका–८ स्थित शितलनगरमा आधुनिक बसपार्कको निर्माण सुरु भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले नगरविकास कोषसँगको सहकार्यमा नमुना बसपार्क निर्माण गरिरहेको नगरपालिकाले जनाएको छ ।

बढ्दो सहरीकरण, सवारीको चाप र अव्यवस्थित पार्किङको समस्या समाधान गर्न बसपार्क निर्माण सुरु गरिएको वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणको भनाइ छ । बसपार्क निर्माण गर्न नगरपालिकाले २०७२ सालमा सित्तलनगरमा २० रोपनी जग्गा खरिद गरेको थियो । खरिद गरेको २० रोपनी र सार्वजनिक १० रोपनी जग्गामा नमुना बसपार्क निर्माण भइरहेको प्रमुख खाँणले बताउनुभयाे ।

स्मार्ट सिटीको नीति लिएर अगाडि बढेको वालिङमा सवारी साधन व्यवस्थित रुपमा पार्किङ गर्ने ठाउँको अभावले बजार क्षेत्र कुरुप तथा साँघुरो बन्दै गएको थियो । पार्किङको समस्या समाधानका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुरुप बसपार्क निर्माणको काम सुरु गरिएको उपप्रमुख कविता तिवारी गैह्रेले बताउनुभयाे ।

डिपिआर अनुसार बसपार्क पूर्णरुपमा निर्माण गरी सञ्चालन गर्न २० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । पहिलो चरणको काम सम्पन्न गर्नका लागि खिलुङ कालिका–कार्की जेभीसँग सम्झौता भएर काम शुरु भएको छ । पहिलो चरणको काम सम्पन्न गर्न ९ करोड ७ लाख ६० हजार ८ सय ६९ रुपैयाँमा सम्झौता भई काम सुरु भएको हो ।

नमुना बसपार्क निर्माणका लागि सहरी विकास कोषको ऋण सहयोग तथा नगरपालिकाको आन्तरिक लगानीमा बसपार्कको निर्माण सम्पन्न हुनेछ । २०८३ असार मसान्तभित्र टर्मिनल भवन, बस तथा कार पार्किङ् वर्कसप, विद्युतिय साधनका लागि चार्चिङ स्टेसन, आन्तरिक सडक, तारबार काम सम्पन्न हुने वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिनुभयाे ।

निर्माण सम्पन्न भएपश्चात बसपार्कमा प्रतिघण्टा ९६ वटा सवारी साधनहरु पार्किङ गर्न सकिने छ । जीप, मिनीबस, माइक्रोबस लगायतका छोटो दूरीमा चल्ने सवारी साधनहरु प्रतिघण्टा ४२ वटा पार्किङ गर्न सकिने नगरपालिकाले जनाएको छ । लामो दूरीमा चल्ने बसहरु प्रतिघण्टा ४८ वटा र बिजुलीबाट चल्ने बसहरु प्रतिघण्टा ८ वटा, प्रतिघण्टा दुई पाङग्रे १० वटा, निजी सवारी कारहरु २० वटा अटाउने नगरपालिकाका प्राविधिक शाखा प्रमुख मणिप्रसाद तिवारीले बताउनुभयाे ।

बसपार्क सिद्धार्थ राजमार्गको नजिकै निर्माण हुन लागेको छ । वालिङबाट पर्वतको दक्षिणी भेग, गुल्मी र पाल्पासम्म पुग्न सजिलो हुने भएकाले बसपार्कको निर्माणसँगै राजमार्गमा जथाभावी पार्किङ गर्ने क्रम घट्ने नगरपालिकाले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय