प्रकाश डोटेल
स्याङ्जा, २० बैशाख । स्याङ्जाका ५ पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । जिल्लाका ११ पालिका मध्ये ५ पालिका पूर्णखोप सुनिश्चित पालिका बनेपछि बाँकी रहेका पालिकामा पनि पूर्णखोप सुनिश्चित बन्ने अभियानमा रहेका छन् ।
१५ महिना भित्रका बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप पाएपछि पालिकालाई पूर्णखोप पालिका घोषणा गरिने प्रदेश जनस्वास्थ्य कार्यायल स्याङ्जाका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयाे । उहाँका अनुसार कोही पनि बालबालिका खोप लगाउनबाट बन्चित हुनु हुँदैन र यो वर्ष छैनन् भन्ने सन्देश दिनका लागि यो विधि अपनाइएको हो ।
हालसम्म ३ नगरपालिका र २ गाउँपालिकाले पूर्णखोप पालिका घोषणा गरिएको छ । पुतलीबजार, भीरकोट र गल्याङ् नगरपालिका तथा बिरुवा र हरिनास गाउँपालिकालाई पूर्णखोप पालिका घोषणा गरिसकेको चापागाईले बताउनुभयाे । केही हप्ताभित्र जिल्लाका बाँकी रहेका पालिकालाई पूर्णखोप पालिका घोषणा गरिसक्ने योजना रहेको चापागाईले जानकारी दिनुभयाे ।
गत वर्ष जिल्लाभर २ हजार ६ सय बालबालिकाले खोप लगाउने अनुमान गरिएकोमा यस वर्ष वृद्धिदरका आधारमा २ हजार ७ सय बालवालिकाले खोप लगाउने अनुमान रहेको कार्यालयको तथ्याङ्गत अनुमान छ ।
यसैबीच पुतलीबजार नगरपालिकाका सरोकारवालाले गर्दै दिगोपनका लागि समेत प्रतिबद्धता जनाउँदै पालिकालाई पूर्णखोप घोषणा गरेको छ । पालिकामा घरधुरी आधारमा नगरभित्रका खोप लगाउन छुट भएका ५ सय २३ बालबालिकालाई खोप लगाएपछि पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल भएको नगर प्रमुख तुलसीराम रेग्मीले बताउनुभयाे ।
त्यस्तै गल्याङ नगरपालिकाका ३ सय २३ बालबालिकालाई सम्पूर्ण खोप दिएपछि पालिकालाई पूर्णखोप पालिका घोषण गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयाे । बालबालिकालाई खोप सेवा प्रदान गर्न पालिकामा ३४ वटा खोप केन्द्रहरु हरेक महिना सञ्चालन गरेर पूर्णखोप सुनिश्चित घोषणा गरिएको भट्टराईले जानकारी दिनुभयाे ।
पूर्णखोप कार्यक्रमले दिगो विकास लक्ष्य हासिल गर्न, बाल मृत्युदर तथा अपाङ्गताको दरलाई घटाउन सहयोगी भूमिका खेल्ने अपेक्षा गरिन्छ । राष्ट्रिय खोप तालिका अनुसार तोकिएका उमेर समूहका बालबालिका सबैले जन्मे पश्चात् पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेपछि पूर्णखोप सुनिश्चित घोषणा गरिने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।