स्याङ्जामा १ सय ९७ जना क्षयरोगी,सबैभन्दा धेरै संक्रमित वालिङमा

२०८२ बैशाख २१, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, २१ बैशाख । आर्थिक वर्ष २०८१÷८२ को हालसम्मको विवरण अनुसार जिल्लाभित्र १ सय ९७ जना क्षयरोग संक्रमित फेला परेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले जिल्लामा क्षयरोगका बिरामीहरूको तथ्याङ्क सार्वजनिक गर्दै जिल्लामा उक्त संख्यामा क्षयरोगी फेला परेको जनाएको छ ।

स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा अध्यावधिक भएको तथ्यांक अनुसार क्षयरोगीको संख्या १ सय ९७ पुगेको हो । सबैभन्दा धेरै संक्रमित वालिङ नगरपालिकामा भेटिएको जनस्वास्थ्य कार्यालयका क्षयरोग निरीक्षक मनिष कुमार महतोले जानकारी दिनुभयाे । उहाँका अनुसार वालिङमा संक्रमितको संख्या ४४ छ ।

सार्वजनिक तथ्याङ्क अनुसार चापाकोटमा ३७, भीरकोटमा ३१, गल्याङमा २८ जना क्षयरोगी रहेको जनाइएको छ । यसैगरी पुतलीबजार नगरपालिकामा संक्रमितको संख्या १६ रहेको छ । नगरपालिकाको तुलनामा गाउँपालिकाहरूमा क्षयरोगको कम प्रभाव देखिएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार गाउँपालिका तर्फ बिरुवामा १६, अर्जुनचौपारीमा १०, कालिगण्डकीमा ७ जना, फेदीखोलामा ४, आँधीखोलामा ३ जना र हरिनासमा १ जना संक्रमित फेला परेका छन् । पछिल्लो वर्ष मात्रै क्षयरोगबाट ७ जनाको मृत्यु भएको छ । पुतलीबजारमा ४, वालिङ, गल्याङ र आँधीखोलामा १÷१ जना गरि ७ जनाको मृत्यु भएको हो ।

बिसिजी खोप लगाउने, वातारणीय सरसफाइमा ध्यान दिने, पोषणयुक्त खानेकुरा खाने, धुम्रपान, मद्यपान नगर्ने, भीडभाड, धुलो धुँवा भएको ठाउँमा जाँदा मास्क लगाउने, क्षयरोगबाट संक्रमितले उत्सर्जन गरेका विकार वस्तुको सही व्यवस्थापन गर्ने र गाइभैंसीको दूध राम्ररी उमालेर मात्र सेवन गर्ने गरेमा क्षयरोगबाट बच्न सकिने जनस्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंले जानकारी दिनुभयाे ।

नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण हुन् । क्षयरोगको संक्रमणबाट बच्न नियमित रुपमा स्वास्थ्य जाँच गर्नुपर्नेमा जनस्वास्थ्य कार्यालयले जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार