प्रकाश डोटेल
स्याङ्जा, २३ बैशाख । स्याङ्जाको सदरमुकामबाट तनहुँको दुलेगौडा जोडन् सडकको निर्माण कार्य तिव्र रुपमा अगाडी बढाईएको छ । तिव्र रुपमा निर्माण गरिएको पुतलीबजारको प्रगतिनगर–डाडाँस्वारा पक्की सडकको निर्माण कार्यको ७५ प्रतिशत काम पूरा भएको छ ।
पुतलीबजार नगरपालिका अन्तर्गत रहेको प्रगतिनगर–बहाकोट–नाम्चे–काल्खु मोटरबाटो फराकिलो बनाउने काम सकिएको छ । सडकमा पर्खाल लगाउने, नाली बनाउने, ग्रेड मिलाउने लगायतका कामहरु पूरा भएर कालोपत्रेको काम थाल्न शुरु हुन लागेको पुतलीबजार नगरपालिकाका ईन्जिनियर सुदीप बरालले जानकारी दिनुभयाे ।
“बाटो फराकिलो बनाउने काम सबै पूरा भएको छ । टेवा, पर्खाल र नाली निर्माणका काम ९५ प्रतिशत पूरा भएको छ ।” ईन्जिनियर बरालले भने, “यसैगरी नाली तर्फ ५ दशमलव ९ किलोमिटर, ५ दशमलव ५ किलोमिटर ग्रेड मिलाउने र ५ दशमलव ३ किलोमिटरमा सबबेश बिछ्याउने काम सम्पन्न भएको छ ।”
बैशाख महिनाको मध्येसम्म भौतिक प्रगति करिब ७५ प्रतिशत पूरा भएको छ । वैशाखको अन्तिम साताभित्र कालोपत्रे गर्नेगरी तयारी भइरहेको छ । विश्व बैंकको आर्थिक सहयोग तथा पुतलीबजार नगरपालिकाको प्राविधिक सहयोगमा कच्ची सडक फराकिलो बनाउनुका साथै कालोपत्रे गरिने नगरप्रमुख तुलसीराम रेग्मीले बताउनुभयाे ।
सडकले स्याङ्जाको सदरमुकाम र तनहुँ जिल्लाको व्यापारिक केन्द्र दुलेगौडा जोड्ने छ । पुतलीबजार हुँदै तनहुँको दुलेगौडासँग जोडिने सडकबाट पुतलीबजार नगरपालिकाका वडा नं. ३, ५, ७, ८, ९ का स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् भने हजारौं व्यक्तिले उक्त सडककोे उपयोग गर्न पाउने नगरप्रमुख रेग्मीले जानकारी दिनुभयाे।
काठमाडौंको लामा कन्स्ट्रक्सन कम्पनीले निर्माणको जिम्मा पाएको सडक निर्माणमा विश्व बैंकको ४३ करोड १८ लाखको लागतमा निर्माण गरिने पक्की सडक अबको ३ महिनाभित्र महिनाभित्र पूरा गरिसक्नु पर्नेछ । सन् २०२४ अप्रिलमा सम्झौता भएको सो सडक २०२५ जुलाईमा निर्माण कार्य सक्नुपर्ने बाध्यकारी समयसिमा रहेको छ ।
शहरी शासकीय तथा पूर्वाधार कार्यक्रम अन्तर्गत विश्व बैंकको ऋण तथा अनुदान सहयोग तथा पुतलीबजार नगरपालिकाको प्राविधिक सहयोगमा सडक कालोपत्रे गर्न लागिएको हो । तोकिएको समयमै सडक निर्माण सम्पन्न गर्नेगरी निर्माण अघि बढाइएको निर्माण कम्पनीका प्रमुख ईन्जिनियर नरनाथ पौडेलले जानकारी दिनुभयाे ।
प्रगतिनगर शिक्षा चोकदेखि काँफलडाँडा–भन्ज्याङ्–बहाकोट–नाम्चे–काल्खुसम्मको ७ दशमलव ६ किलोमिटर पक्की सडक बन्दैछ । नाली र टेवा पर्खाल सहित दुई लेनको सडकको चौडा ७ मिटरको हुने नगरपालिकाले जनाएको छ ।