गल्याङ–१० मा तीनदिने उद्घोषण तालिम सफलतापूर्वक सम्पन्न

२०८२ जेष्ठ १२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल 
स्याङ्जा,११ जेठ । सामाजिक र सार्वजनिक गतिविधिमा महिलाहरूको सक्रिय सहभागिता बढ्दै गएको वर्तमान सन्दर्भमा उनीहरूलाई आत्मविश्वासी र सशक्त बनाउने उद्देश्यले तीन दिने उद्घोषण तालिम सञ्चालन गरिएको थियो ।

गल्याङ नगरपालिका वडा नं. १० को आयोजनामा महिलाहरूका लागि सञ्चालन गरिएको तीन दिने उद्घोषण तालिम शनिबार सम्पन्न भएको छ ।

बिहिवार सुरु भएको तालिम वडा कार्यालयमै सञ्चालन गरिएको थियो ।

उक्त तालिमको समापन कार्यक्रममा गल्याङ नगरपालिका वडा नं. १० का वडा अध्यक्ष मुक्ति प्रसाद खनालको अध्यक्षता तथा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।

तालिममा वडा नम्बर १० का विभिन्न आमा समूहका ४० जना महिला सदस्यहरूको सहभागिता रहेको थियो ।

उक्त समापन समारोहमा बोल्दै उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनाले तालिम निकै उपलब्धीमूलक भएको बताउनुभयो । उहाँले महिलाहरूलाई सामाजिक रुपमा सक्षम बनाउने अभियानमा यस्ता तालिमहरूले टेवा पुग्ने बताउनुभयो । त्यस्तै उद्घोषणको माध्यमबाट महिलाहरूले आफ्ना विचार र आवाज जनस्तरसम्म पुर्‍याउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी वडा अध्यक्ष मुक्ति प्रसाद खनालले कार्यक्रमको उद्देश्य र आवश्यकताको चर्चा गर्दै महिलाहरूको सार्वजनिक गतिविधिमा बढ्दो सक्रियता सन्दर्भमा यस्ता तालिमहरू आवश्यक रहेको बताउनुभयो । उहाँले तालिमपछि महिलाहरू विभिन्न सामाजिक कार्यक्रमहरूमा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

तीन दिनसम्म सञ्चालित उक्त तालिममा गल्याङ एफएमका स्टेशन म्यानेजर केपी खनाल प्रमुख प्रशिक्षक तथा हेर्नेकुरा डटकमका संवाददाता क्रान्ति अर्याल प्रशिक्षकको रूपमा रहनुभएको थियो । तालिममा उद्घोषण शैली, स्वर नियन्त्रण, आत्मविश्वास अभिवृद्धि, कार्यक्रम संचालनका शिष्टाचार लगायतका विषयहरू समेटिएको थियो ।
तालिमपछि सहभागी महिलाहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी उक्त तालिम पश्चात् सहभागीहरूले तीन दिने तालिमले आफूहरूलाई आत्मविश्वासी बनाएको र आगामी दिनमा सामुदायिक तथा सामाजिक कार्यक्रममा उद्घोषण गर्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय