हिमाल जि.सी
काठमाडौँ , ११ जेठ। नेपाल स्रष्टा समाजकोे व्यानरमा शिक्षाविद्, साहित्यकार, कवि एवम् गीतकार डा. सदानन्द कडेलद्वारा लिखित दुई कृति “शैक्षिक आकाशका उज्ज्वल नक्षत्र” र “झुल्को आँखामा” पुस्तकको लोकार्पण समारोह सम्पन्न भयो ।
नेपालको शिक्षा क्षेत्रका मूर्धन्य व्यक्तित्वहरु प्रा.डा.सुरेशराज शर्मा, प्रा.डा.वासुदेव त्रिपाठी, केदारभक्त माथेमा, प्रा.डा.विद्यानाथ कोइराला, प्रा.डा.मनप्रसाद वाग्ले, वरिष्ठ साहित्यकार ओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, प्रा.डा.अन्जना भट्टराई, प्रा.डा.बालचन्द्र लुइटेल लगायत अन्य विशिष्ट व्यक्तिहरुको गरिमामय उपस्थितमा सभ्य र भव्य कार्यक्रमबीच यी दुई भिन्न भिन्न प्रकृतिका पुस्तक लोकार्पण गरिएको थियो ।
नेपाल स्रष्टा समाजका महासचिव देविका तिमल्सिनाले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य तारा सुवेदी राख्नु भएको थियो भने काठमाडौं विश्वविद्यालयका संस्थापक पूर्व उपकुलपति प्रा.डा.सुरेश शर्माले–“हामीले आफैंलाई राम्रो बनाउन खोज्यौं होला तर देशलाई राम्रो गर्न कसले सोच्यो । देश बनाउने भनेको के हो ? जे गर्छौं त्यो भैरहको छ, गरिरहेका छौं कि छैनौं बेलाबेलामा समीक्षा हुनुपर्छ ।” भन्नुभयो । देश विग्रन लागेकोमा चिन्ता प्रकट गर्दै “मूलुकमा भएको कुरा विग्रन पो लाग्यो कि भन्ने पीर अरुलाई जस्तै मलाई नि लागेको छ ।” उहाँले थप्नुभयो ।
त्रिविविका पूर्वउपकुलपति एवं पूर्व राजदुत केदारभक्त माथेमाले नेपालले शिक्षाको सही बाटो नलिएकोमा चिन्ता प्रकट गर्दै भन्नुभयो –“सामुदायिक विद्यालय र शिक्षा बलियो बनाउनुपर्छ । सामुदायिक शिक्षाबाट नै हो समाज विकास हुने हो । तर यो कुनैपनि राजनीतिक पार्टीका नेताबाट सुनिएन । अहिले उच्च शिक्षामा पनि गडबडी छ ।” भन्नुभयो ।
अर्का वक्ता प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा.वासुदेव त्रिपाठीले विदेशिने संस्कृतिप्रति चिन्ता व्यक्त गर्नुभयो । शिक्षाविद् प्रा.डा.मनप्रसाद वाग्लेले शिक्षा र साहित्यको अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै निराश नहुन र आशावादी चेत जगाउन आग्रह गर्नुभयो ।
‘शैक्षिक आकाशका उज्ज्वल नक्षत्र’ पुस्तक अनुसन्धानमूलक ढंगले जीवनी लेखिएको भन्दै कृतिको अनुसन्धानको क्षेत्रमा लाग्नेहरुका निम्ति सन्दर्भ सामाग्री हुनसक्ने भएकोले यो पुस्तक महत्वपूर्ण छ भनी प्रा.डा.बालचन्द्र लुइटेलले बताउनुभयो ।
‘झुल्को आँखा’ गीतसंग्रह बारे प्रा.डा.अन्जना भट्टराईले प्रकाश पार्नुभयो र यस गीत संग्रह इन्दिरा लामिछाने उपाध्यायले प्रकाशक गर्नुभएको हो । दुवै पुस्तकका लेखक डा. सदानन्द कडेलले –“मानिसको मृत्युपछि दुःख मनाउ गर्नु र सम्मान गर्नु भन्दा जीवित रहँदै उनीहरुको योगदानको उचित मूल्याङ्कन गर्नु उत्तम हुन्छ ।” भन्दै आफ्ना भनाई राख्नु भएको थियो ।
कार्यक्रमका सभापति तथा नेपाल स्रष्टा समाजका अध्यक्ष ओम श्रेष्ठ ‘रोदन’ ले शिक्षा क्षेत्रका उच्चतम व्यक्तित्वहरुका बारेमा लेखिएको यति राम्रो पुस्तक नेपाल स्रष्टा समाजले लोकार्पण गर्न पाउनु आपैmमा गौरवको विषय हो भन्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।