काठमाडौँ, १४ जेठ । विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं पुन: नियुक्त भएका हुनुभएकाे छ । अध्यक्ष पदका लागि ६ जनाले आवेदन दिएका थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हुमागाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी शुब्बा गुरुङले मंगलबार जानकारी दिनुभयाे ।
यसअघि मन्त्रालयले प्रकाशित गरेको नामावलीमा हुमागाईंसँगै कविता शर्मा, सुजन राजा श्रेष्ठ, अशोककुमार घिमिरे, पदम राज जोशी र अनन्त कान्त मैनालीले आवेदन दिएको उल्लेख थियो । अध्यक्ष नियुक्त हुनुभएका हुमागाईं बोर्डका पूर्वअध्यक्ष हुनुहुन्छ । २०७७ चैतमा नियुक्त हुनुभएका हुमागाईको कार्यकाल गत चैतमा समाप्त भएको थियो ।
विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६ को दफा १४(४) अनुसार अध्यक्ष पदका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्न एक सिफारिस समिति गठन गरिने र त्यसमा मन्त्रालयका सचिव संयोजक, मन्त्रालयले नियुक्त गरेको सम्बन्धित विषयका एकजना विज्ञ सदस्य र सहसचिव सदस्य-सचिव रहने व्यवस्था छ । समितिले योग्यता पुगेका उम्मेदवारहरुमध्येबाट उपयुक्त व्यक्ति छनोट गरी सिफारिस गर्ने उल्लेख छ ।
‘अध्यक्षको पदमा नियुक्तिका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा मन्त्रालयले नियुक्त गरेको सम्बन्धित विषयको एकजना विज्ञ सदस्य र मन्त्रालयको सहसचिव सदस्य सचिव रहेको एक सिफारिस समिति रहनेछन्,’ दफा ४ मा भनिएको छ, ‘सो समितिले दफा १७ बमोजिमको योग्यता पुगेका व्यक्तिहरुमध्येबाट तोकिए बमोजिम खुला प्रतिस्पर्धाबाट उपयुक्त व्यक्ति छनोट गरी नियुक्तिको लागि नेपाल सरकार समक्ष सिफारिस गर्नेछ ।’ ऐनको दफा १८ मा अध्यक्ष बोर्डको कार्यकारी प्रमुख हुने र उहाँको कार्यकाल चार वर्षको हुने उल्लेख छ ।