काठमाडौँ , १७ जेठ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनमार्फत ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने बताउनुभएको छ ।
बजेटका सन्दर्भमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले अर्थतन्त्रमा देखिएको संकुचन कम हुदै गएकाले बजेटको प्रभावकारी कार्यान्वयनमार्फत ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने बताउनुभएको हो ।
संविधान जारी भएपछि तीन बर्षको आर्थिक बृद्धिदर ७ दशमलब ५ प्रतिशत रहेको अनुभव रहेको उहाले बताउनुभयो । पौडेलले चालू आर्थिक बर्षमा पनि आर्थिक वृद्धिदर पाँच प्रतिशतका हाराहारीमा पुग्न सक्ने जिकिर गर्नुभयो । उहाले बजेटले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान केन्द्रीत गरेको पनि बताउनुभयो । आगामी आर्थिक वर्षमा राजस्वको अनुमानको लक्ष्य हासिल हुने विश्वास रहेको भन्दै उहाले आन्तरिक ऋण पनि बित्त आयोगको सीमा भन्दा पनि कम परिचालन गर्ने गर्ने गरि बजेटमा उल्लेख गरिएको धारणा राख्नुभयो । यसबाट सरकार अनावश्यक ऋणलाई प्रोत्साहन नगर्ने पक्षमा रहेको देखिएको उहाको भनाइ छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेटमा निजी क्षेत्रले दिएका धेरै सुझावहरुलाई समावेश गरिएको भएपनि कतिपय विषयहरु अझै छुटेको बताउनुभयो । खनिजजन्य र नदिजन्य पदार्थको उत्खन, पर्यटन क्षेत्रलाई प्राथमिकता दिइनु सकारात्मक भएपनि टिडिएस र करले गर्दा पर्यटकको लागत बढ्ने हुदाँ यसमा सहजिकरण आवश्यक रहेको उहाले बताउनुभयो । उहाले नयाँ आर्थिक वर्षको बजेटबाट नतिजा ल्याउनको लागि र बजेट र मौद्रिक नीतिबीच तालमेलको आवश्यकतामा जोड दिनुभयो ।
अध्यक्ष ढकालले नीति तथा कार्यक्रमको सही कार्यान्वयन गर्न सके बजेटमा उल्लेख गरिएको आगामी आर्थिक वर्षको ६ प्रतिशतको आर्थिक बृद्धि सम्भव रहेको समेत बताउनुभयो ।