आँधीखोला गाउँपालिकामा मनाइयो छुवाछुत उन्मूलन राष्ट्रिय दिवस

२०८२ जेष्ठ २१, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल 

स्याङ्जा, २१ जेठ ।  नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो, जहाँ विविध समुदायका मानिसहरू बसोबास गर्छन् । तरपनी समाजमा जातीय विभेद, छुवाछुतजस्ता अमानवीय अभ्यासहरू सदियौंदेखि कायम छन् । यिनै विभेदकारी संरचनालाई अन्त्य गर्न नेपालको इतिहासमा एक महत्वपूर्ण मोड २०६३ सालको जेठ २१ गते आएको थियो । प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको रूपमा मनाउने गरिएको छ । यही अवसरमा स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका–२, चिलाउनेभाटी बजारमा विविध सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएको थियो ।

सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा चिलाउनेभाटी बजारमा प्रभातफेरी, अन्तरक्रिया, अभिमुखिकरण कार्यक्रम र साहित्यिक प्रस्तुति सहित सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा बोल्दै आधिखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले सामाजिक न्याय र समावेशिता सहितको समतामूलक समाज निर्माण गर्न सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो । त्यस्तै उत्पीडित समुदायको पक्षमा स्थानीय सरकारले सार्वजनिक बिदा समेत दिएको जानकारी दिनुभएको थियो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, वडा अध्यक्ष कमल प्रसाद पौडेल लगायतले आफ्नो धारणा राख्नुभएको थियो । प्रभातफेरी कार्यक्रम चिलाउनेभाटी बजार परिक्रमा गरी सम्पन्न भएपछि अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा दलित समुदायका नागरिकका घटना दर्ता, नागरिकता प्राप्ति तथा जिल्लामा देखिएका विभेदका घटनासँग सम्बन्धित कानूनी पक्षमा सहजिकरण सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले गर्नुभएको थियो ।

त्यस्तै सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले राष्ट्रिय विभेदका समसामयिक मुद्दा, दलित समुदायका अधिकार, छुवाछुत तथा भेदभावको कानूनी उपचार र सामाजिक विकास कार्यालयबाट सम्पन्न कार्यहरूबारे जानकारी दिनुभएको थियो ।

उक्त कार्यक्रममा प्रद्युम्न पनेरु माविकी शिक्षिका शर्मिला बस्यालले सचेतनामूलक गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो भने शिखा सुनार, विपासा विक, आरती विक र सेपत सिरानचौर माविकी छात्रा सुनारले कविता तथा गीतमार्फत सामाजिक सन्देश प्रस्तुत गरेका थिए ।

नेपालले छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको यति लामो समयपछि पनि व्यवहारमा अझै केही चुनौतीहरू रहेका छन् । तर यस्ता सचेतनामूलक गतिविधिले नयाँ पुस्तामा समावेशी चेतना जगाउन र दिगो परिवर्तनतर्फ अगाडि बढ्न प्रेरणा दिने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय