क्रान्ति अर्याल
स्याङ्जा, २२ जेठ । विश्वभर बढ्दो जलवायु संकट र वन क्षेत्रको संकुचनसँगै वातावरण संरक्षणप्रति स्थानीय तहहरू पनि सचेत बन्न थालेका छन् । यस्तै सचेतना अभिवृद्धिको सन्देश दिन स्याङ्जाको सिरूवारीमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
विश्व वातावरण दिवस २०८२ को अवसरमा आधिखोला गाउँपालिका (१ सिरूवारीमा लालीगुँरास, पारिजात, कल्की, बिरेन्द्र फूल लगायत विभिन्न जातका विरुवा रोपिएको हो । डिभिजन वन कार्यालय स्याङ्जाको आयोजनामा सम्पन्न उक्त वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जलवायु परिवर्तन न्यूनीकरणमा वृक्षारोपणको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
उहाँले प्रकृति संरक्षणमा सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै वातावरण सन्तुलन कायम राख्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक योगदान दिनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालले वातावरणीय सचेतना फैलाउन वृक्षारोपण अभियान अत्यन्तै उपयोगी रहेको बताउनुभयो । उहाँले सिरूवारीलाई हरित पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जानकारी दिनुभयो ।
वृक्षारोपण कार्यक्रम आँधीखोला गाउँपालिका–१ पञ्चमुल स्थित हरित पार्क र सव(डिभिजन वन कार्यालय परिसरमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधिहरू, वन उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरू, डिभिजन वन कार्यालयका कर्मचारी, उपभोक्ता मञ्चका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।