मालुङ्गाको उत्तरबाहिनी क्षेत्रमा लक्ष्मी सनराइज बैंकद्वारा वृक्षरोपण

२०८२ जेष्ठ २२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

संगम भण्डारी
स्याङ्जा,२२ जेठ । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गामा विश्व वातावरण दिवसको अवसरमा लक्ष्मी सनराइज बैंक गल्याङ र वालिङ शाखाको संयुक्त आयोजनामा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान उत्तरबाहिनी क्षेत्र परिसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा फलफूल र फूलका ५५ बिरुवा रोपिएको हाे।

लक्ष्मी सनराइज बैंक गल्याङ शाखाका प्रबन्धक सूर्य पौडेलले विश्व वातावरण दिवसको अवसर पारेर बैंकका दुवै शाखाको संयुक्त प्रयासमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हाम्रो बैंकले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। जसमा वित्तीय साक्षरता कार्यक्रम, शैक्षिक सामग्री वितरण, खानेपानी शुद्धिकरण उपकरण हस्तान्तरण र वृक्षरोपण कार्यक्रम रहेका छन्।”

उहाँका अनुसार, बैंकले गण्डकी प्रदेशमा ७०० बिरुवा तथा देशव्यापी रूपमा ८००० बिरुवा रोप्ने लक्ष्य लिएको छ। त्यसै अनुसार गल्याङ र वालिङ शाखाबाट संयुक्त रूपमा उत्तरबाहिनी क्षेत्रमा ५० बिरुवा रोपिएको हो। साथै, गुरुकुलममा अध्ययनरत बटुकहरूका लागि रु ५००० सहयोग समेत गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका उपाध्यक्ष शालिकराम बस्यालले प्रयोगमा आउने किसिमका बिरुवाहरू वृक्षरोपण गरिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो। साथै उहाँले हालै सञ्चालनमा आएको कालीगण्डकी प्राकृतिक अस्पतालको लागि आवश्यक भौतिक सामग्रीहरूको खाँचो रहेको उल्लेख गर्दै, बैंकले फर्निचर तथा दराज जस्ता सामग्रीहरू उपलब्ध गराउन सक्ने हो भने सहयोग गरिदिन आग्रह गर्नुभयो।

कार्यक्रम सञ्चालन प्रतिष्ठान एवं अस्पताल समितिका सचिव सोमनाथ न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष पदम प्रसाद अर्याल, गुरुकुल सहायक प्र।नारायण भण्डारी, लक्ष्मी सनराइज बैंक गल्याङ शाखाका म्यानेजर सूर्य पौडेल, वालिङ शाखाका म्यानेजर मणिप्रसाद बस्याल तथा अन्य कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा गल्याङ तथा वालिङ शाखाका प्रबन्धकद्वय पौडेल र बस्यालले आ–आफ्नो धारणा राख्दै सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय