सुष्मा अर्याल
स्याङ्जा,२४ जेठ । “विदेशको छ साँघुरो सास, आफ्नै माटोको फराकिलो महासास । जहाँ गए पनि मन फर्किन्छ, जन्मभूमि सधैं प्यारो लाग्छ ।” भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ स्याङ्जा जिल्ला गल्याङ नगरपालिका ४ का भोजराज पाण्डेले ।
“चालिस काटेसी रमाउला” भन्ने गित जस्तै वैदेशिक रोजगारीको क्रममा विभिन्न देश पुग्नु भएका पाण्डे ४० काटेसी आफ्नै देशमा कृषि खेती संगै रमाउन थाल्नु भएको छ । वैदेशिक रोजगारीका क्रममा भारत, मलेशिया, सिंगापुर, कतार लगायतका देशमा पुगेर फर्किनु भएका उहाँ हाल आफ्नै गाउँको कृषि कर्मसंग रमाउन थाल्नु भएको छ ।
पाण्डेले परम्परागत खेतीलाई आधुनिक सोचसँग जोड्दै व्यावसायिक रूपमा ५ रोपनी जग्गामा ७ हजार खुर्सानीका बिरुवा लगाउनु भएको छ । एक पटक बिरुवा लगाएपछि ३ बर्ष सम्म फल प्राप्त भै राख्ने भएपछि पाण्डेले खुर्सानी उत्पादन क्षेत्रनै रोजेको बताउनुभयो । यहीँ बैशाख महिना बाट खेती सुरु गर्नु भएको उहाँको दैनिकी खेतबारीमै बित्ने गरेको छ ।
गाउँघरका थुप्रै युवाहरुले वैदेशिक रोजगारीको सपना देखिरहँदा पाण्डेले भने आफ्नै माटोमा पसिना बगाउँदै स्वावलम्बी बन्ने मार्ग रोज्नुभएको छ । कृषक पाण्डेको यो प्रयासले गाउँका कृषि क्षेत्रमा नयाँ आशा पलाएको छ। वैदेशिक रोजगारी मात्रै होइन गाउँमै केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएका पाण्डे अहिले गाउँमा प्रेरणा श्रोत समेत बन्नु भएको छ ।