पाल्पा,२६ जेठ । पाल्पाको रिमिघा लेक जंगल क्षेत्रमा भेटिएको जडीबुटी यार्चागुम्बा पुष्टि भएको छ । रम्भा गाउँपालिका–२ फोक्सिङ्कोट र वडा ३ पीपलडाँडा क्षेत्र रिमिघा लेकमा भेटिएको जडीबुटी यार्चागुम्बा भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरले आइतबार पुष्टि गरेको हो ।
रम्भा गाउँपालिका र डिभिजन वन कार्यालयले यार्चाको प्रमाणीकरणका लागि कर्मचारी खटाएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रिमिघा लेकमा झाडी सरसफाइ गरेर सामुदायिक वन क्षेत्रमा सुन्तलाका बिरुवा लगाउने तयारी गर्दा खाल्डो खन्ने क्रममा यार्चागुम्बा जस्तै देखिने प्रजाति भेटिएको थियो । त्यसपछि परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाइएको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयाे।
डिभिजन वन प्रमुख नारायणदेव भट्टराईसमेतको उपस्थितिमा जिल्ला सुरक्षा समितिको बैठक बसेर जडीबुटी यार्चा भेटिएको क्षेत्रमा अझै केही दिन सर्वसाधारणलाई प्रवेश निषेध गरेको छ ।