काठमाडौँ ,२ असार। सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग संसद् अवरोधबारे छलफल गरेका छन् । सभामुख घिमिरेले आज बिहान सरकारी निवास बालुवाटारमा अर्याल र परियारसँग छलफल गरेका हुन् ।
भेटमा सभामुखले भने– ‘दुई सातादेखि विपक्षीको अवरोधले संसद् बन्धक भयो । बजेटबारे व्यापक छलफल गर्नुपर्ने, समृद्ध बनाउने बेला संसद् अवरुद्ध हुँदा जनतामा गलत सन्देश गएको छ । विपक्षीले उठाएका मुद्दा गम्भीर छन्, त्यही भएर दुई सातासम्म संसद्लाई सहमतिका लागि रोकेको हुँ । तर, अब रोक्ने अवस्था छैन । संसद्को नेतृत्वका हिसाबले मैले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्दछ ।’