पूजा खड्का
स्याङ्जा, २ असार । स्याङ्जाको विभिन्न मुद्दामा फरार रहेका ७ कसुरदार पक्राउ परेका छन् ।
सम्मानित अदालत बाट भएको फैसला कार्यान्वयन लाई चुस्त दुरुस्त र प्रभाबकारी बनाई न्यायिक कारबाहीलाई पूर्णता दिई सुरक्षित र न्यायपूर्ण समाज निर्माणको लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जा बाट खटिएको विशेष अप्रेशन टोलीले विभिन्न मितिमा विभिन्न मुद्धा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाकी रहेका ७ जना फरार कसुरदार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरी ले जानकारी दिनुभयो।
उहाले सात जना कसुरदार लाइ ८ वर्ष कैद र चार हजार पाँच सय चौसठ्ठी रुपैया पच्चीस पैसा जरिवाना असुल का लागि सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको जानकारी दिनुभयो।
पक्राउ पर्नेमा हरीनास गाउँपालिका वडा नंवर ६ बस्ने डिकुरे भने भीम बहादुर सुनार जबर्जस्ती करणी मुद्दामा ८ वर्ष कैद, पुतलीबजार नगरपालिका वडा नम्बर २ बस्ने राम कुमारी गुरुङ्ग चेक अनादर मुद्दामा रु १५ सय जरिवाना, कालीगण्डकी गाउँपालिका वडा नंवर ४ बस्ने हरी प्रसाद पाण्डे जालसाजी मुद्धा मा रु एक हजार जरिवाना, कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ का तारा भट्टराई पाण्डे जालसाजी मुद्धामा रु एक हजार जरिवाना रहेको छ। त्यसै गरी चापाकोट नगरपालिका वडा नम्बर ५ बस्ने मुना खवास सम्बन्ध विच्छेद मुद्धामा रु ५० जरिवाना र कालीगण्डकी गाउँपालिका वडा नंवर १ बस्ने शिव प्रसाद श्रेष्ठ सार्बजनिक अपराध मुद्दामा एक हजार चार सय पच्चीस रुपैया जरिवाना र जोग कुमारी पाण्डे जालसाजी मुद्धामा एक हजार रुपैयाँ जरिवाना रहेको छ।