किसानको जीवनस्तर उकास्न पशुपालन मुख्य आधार : सांसद भट्टराई

२०८२ असार २, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल 
स्याङ्जा,२ असार । किसानहरूको जीवनस्तर उकास्न पशुपालन व्यवसाय महत्वपूर्ण आधार भएको गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराईले बताउनुभएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–६ मजुवामा सम्पन्न बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाइ तथा यान्त्रिक उपकरण वितरण कार्यक्रममा भट्टराईले उक्त कुरा बताउनुभएको हो ।

उहाँले चापाकोट क्षेत्रको समृद्धिका लागि कृषि र पशुपालन क्षेत्रलाई आधुनिक र व्यवसायिक बनाउन प्रदेश सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो । त्यस्तै किसानको जीवनस्तर उकास्न यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताउँदै प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर अझ प्रभावकारी योजना ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । केलादी दुग्ध उत्पादक समूहलाई व्यवस्थित र समुन्नत संस्थाका रूपमा विकास गर्दै किसानहरूको उत्पादन र आय आर्जन वृद्धिमा सघाउने समेत भट्टराईले बताउनुभयो ।

गाउँमा पशुपालन क्षेत्रलाई व्यवस्थित, उत्पादनमुखी र व्यावसायिक बनाउँदै स्थानीय किसानहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले केलादी दुग्ध उत्पादक समूहको आयोजनामा र भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्याङ्जाको सहयोगमा सोमबार उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्याङ्जाका डा। रूपेश श्रेष्ठले किसानहरूलाई पशुपालन व्यवसायमा आत्मनिर्भर बनाउन आधुनिक प्रविधि र यान्त्रिक उपकरणको प्रयोग आवश्यक रहेको बताउनुभयो । उहाँले उत्पादन वृद्धि र पशु स्वास्थ्य सुधारका लागि केन्द्रले निरन्तर सेवा र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रमका अध्यक्ष तथा केलादी दुग्ध उत्पादक समूहका अध्यक्ष रामचन्द्र भट्टराईले किसानहरूको उत्पादन क्षमता वृद्धि र आय आर्जन सुधारका लागि समूहले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने बताउनुभयो । उहाँले सबै किसानहरूलाई समूहमा आबद्ध भई पशुपालन व्यवसायलाई मजबुत बनाउन आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा संस्थाका सचिव घनश्याम खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै १८ लाख रुपैयाँ बराबरको परियोजना सञ्चालन गरिएको जानकारी दिनुभयो । उक्त कार्यक्रम अन्तर्गत ९ वटा गोठ निर्माण, १० वटा भकारो सुधार, ९ वटा चापकट्टर ९घाँस काट्ने मेसिन० र ४७ वटा दूधका क्यान वितरण गरिएको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा १ लाख रुपैयाँ बराबरको भेटेनरी औषधि वितरण गरिएको थियो । त्यस्तै पशु नस्ल सुधारका लागि स्थानीय कृषक कृष्णप्रसाद अधिकारीलाई उन्नत जातको राँगो प्रदान गरिएको छ । यी कार्यक्रमबाट ७६ जना किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।

उक्त कार्यक्रममा करिब जनप्रतिनिधि सहित करिब १०० जना स्थानीय कृषकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय किसानहरूहरुले यस्ता कार्यक्रमहरूले गाउँमा पशुपालन व्यवसायप्रति आकर्षण बढाउनुका साथै आर्थिक सुधारमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

संस्थाका अध्यक्ष रामचन्द्र भट्टराईको अध्यक्षतामा सप्पन्न कार्यक्रमको सञ्चालन भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्याङ्जाका अधिकृत पुरुषोत्तम कोइरालाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय