पूजा खड्का
स्याङ्जा, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय नेतृत्व क्षमता विकास विभाग सदस्य दिङकर नेपालले मंगलबार ५ : ४८ बजे सामाजिक संजाल फेसबुकमा लाइभ मार्फत राखेको भिडियोले यतिबेला सबैको ध्यान केन्द्रित गरेको छ ।
आधिखोला बचाउ अभियानमा लागेकोमा वालिङ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सुनिल खनालले आफू र राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य रहनुभएका मेघ आलेलाई रड प्रहार गरेको नेपालले बताउनु भएको छ । आधिखोला दोहोनको विरुद्धमा आधिखोला संघर्षको कार्यक्रम बाट फर्किदा वडा अध्यक्ष खनालले आफू माथी रड प्रहार गरेको आरोप उहाँले लगाउनु भएको छ । यस बिसयमा हेर्ने कुरा डटकमले सम्पर्क गर्न खोज्दा नेपालसंग सम्पर्क भने हुन सकेको छैन । हाम्रो सम्पर्क हुन नसके पनि उहाँ पोखरामा उपचार गराइरहेको बुझिएको छ ।


यता वालिङ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सुनिल खनालले भने सम्बन्धित निकाय बाट वैधानिकता प्राप्त गरेर भैइरहेको काममा अनावश्यक निर्दोष व्यक्ति उचालेर विवाद सिर्जना गर्न खोजेको सामाजिक संजाल फेसबुक मार्फत जनाउनु भएको छ । खनालले सम्बन्धित निकायबाट स्वीकृति लिइएको काममा व्यक्ति माथि लक्षित गर्दै राजनीति गर्न खोजेको आरोप लगाउनु भएको छ । खनालसंग पनि सम्पर्क गर्न खोज्दा संपर्क हुन सकेन।
साथमा उहाले जनप्रतिनिधिको हैसियतले आफू आफ्नो जिम्मेवारीप्रति पूर्ण सजग रहेको बताउँदै जनताको विश्वासको सम्मान गर्न आफू पछि नपर्ने पनि उल्लेख गर्नुभएको छ।
एक जना पक्राउ, १० जना विरुद्ध उजुरी
असार ३ गते वालिङमा घटनाको घटनालाई लिएर प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने १० जना विरुद्ध उजुरी दर्ता भएको छ । पक्राउ पर्नेमा वालिङ्ग ८ का २९ वर्षिय साजन पंगेनी रहेको प्रहरीले जनाएको छ । पंगेनीलाई ७ दिनको म्याद थप गरि घटना बारे अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।
दिउँसो के भएको थियो
आँधी खोलामा दोहन भएको भन्दै केही स्थानीयको सहयोगमा दिनकर नेपाल र मेघ आले समुहले विरोध स्वरुप नदी जन्य पदार्थ उत्खनन भएको ठाउँमा आन्दोलन गर्नु भएको थियो । नदि उत्खनन गर्ने यंत्रमा बिरोधको ब्यानर टासेर कार्यक्रम गरेपछि यस बिसयमा दिउँसो नै सामान्य विवाद भएको देखिन्छ । कार्यक्रम स्थल पुगेका वडा अध्यक्ष खनालले निजि यन्त्र कब्जा गरेर ब्यानर टासेकोमा बिरोध जनाउनु भएको भिडियो सामाजिक संजालमा देख्न सकिन्छ ।
आँधीखोला दोहन वैधानिक : वालिङ नगरपालिका
वालिङ्ग नगरपालिकाले मंगलबार भएको घटनालाई लक्षित गर्दै एक विज्ञप्ति सार्बजनिक गरेको छ । विज्ञप्तिमा नगर क्षेत्रमा हुने भौतिक निर्माणको लागि आँधीखोलाको नदीजन्य पदार्थ उत्खनन् गर्ने कार्यमा वातावरणीय प्रभाव मूल्यांकनका आधारमा २०८१/११/२६ मा कार्यपालिकाको बैठकबाट आँधीखोला छेउ छाउका बस्तीमा जोखिम हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै मेशिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गर्न जिल्ला विपद् व्यवस्थापन समितिसँग अनुमति माग गर्न निर्णय गरिएको र जेठ ९ का दिन जिल्ला विपद् व्यवस्थापन समिति स्याङ्जाका पदाधिकारी र प्राविधिक कर्मचारी सहितको टोलीले अनुगमन गरी जेठ १३ को स्थलगत प्रतिवेदन पेश गरी २५०० घनमिटर निर्माण सामग्रीको नियमानुसारको राजस्व रकम लिई उत्खनन गर्न अनुमति दिने निर्णय प्राप्त भएकाले जेठ १४ गते उत्खनन गरी सामग्री जम्मा गर्न अनुमति दिइएको जानकारी गराएको छ।