काठमाडौँ १६ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु हुँदैछ । बैठक दिउँसो एक बजेका लागि आह्वान भएको हो ।
आइतबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले बैठकका लागि ६ एजेण्डा तय गरेको थियो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको पहिलो एजेण्डाका रूपमा पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्र पेस गर्ने राखिएको छ । यो अभियानमा कांग्रेसले केन्द्रीय नेताहरूलाई जिल्ला जिल्लामा खटाएको थियो ।
उहाँहरु जिल्ला जिल्लामा पुगेर ल्याएको पार्टीको वास्तविक अवस्थासम्बन्धी प्रतिवेदन केन्द्रीय समितिमा छलफल गरी पारित गरेर त्यही अनुसार पार्टीले आगामी दिनका लागि साङ्गठनिक रणनीति बनाउने मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।
बैठकको दोस्रो एजेण्डा भ्रातृसंस्थाको तदर्थ समितिबारे राखिएको छ । कांग्रेसका ७ भ्रातृसंस्थाको म्याद गत चैत मसान्तमा सकिएको थियो । ती भ्रातृसंस्थाको म्याद अन्तिम पटकका लागि थप्ने तयारी छ । अन्तिम पटक थपिएको समयमा नि महाधिवेशन नभए स्वतः भङ्ग गर्ने सहमति कांग्रेसमा बनिसकेको छ ।
अब भ्रातृसंस्थामा समितिहरूलाई महाधिवेशन गर्न नदिने, पार्टीले भ्रातृसंस्थाको महाधिवेशन गर्न बनाएको निर्देशन समितिलाई महाधिवेशन गर्ने कार्यतालिका पेस गर्न भनिएको छ । त्यो कार्यतालिका अनुसार पार्टीका तल्ला तहले अधिवेशन गर्नेछन् । केन्द्रले केन्द्रीय महाधिवेशन गरिदिनेछ ।
तेस्रो एजेण्डा क्रियाशील सदस्यताको नवीकरणबारे राखिएको छ । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको समय दिएको छ । त्यो समयसम्म नवीकरण सक्ने र नयाँ कसरी बाँड्ने भन्नेबारे पार्टीले रणनीति बनाउनेछ ।
चौथो एजेण्डा जनसम्पर्क समितिमा दुई किसिमको सदस्यता दिने व्यवस्था गर्नका लागि विधान परिमार्जनको प्रक्रिया सुरु गर्ने विषयमा बैठकमा छलफल गर्ने भन्ने एजेण्डा तय गरिएको छ । पहिला जनसम्पर्क समितिमा साधारण सदस्यता मात्रै दिने गरिएकोमा अब क्रियाशील सदस्यता पनि दिने सुरुवात गर्ने विषयबारे विधान परिमार्जनको प्रस्ताव बैठकमा लगिनेछ ।
पाँचौँ एजेण्डाका रूपमा पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले स्मारिका प्रकाशन गर्नेबारे पनि केन्द्रीय समितिमा छलफल हुनेछ । अन्तिम एजेण्डाका रूपमा समसामयिक राजनीति राखिएको छ ।