काठमाडौं, १६ असार । असार १५ गते पारित गर्ने सहमति भए पनि शिक्षा विधेयक अगाडि नबढेपछि नेपाल शिक्षक महासंघले पुनः आन्दोलनको चेतावनी दिएको छ ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकमा कुनै विलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।
राजधानी केन्द्रित २९ दिने शैक्षिक सडक आन्दोलनपछि गत वैशाख १७ गते सरकारसँग सहमति भएको थियो । सहमतिअनुसार असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने प्रतिबद्धता भएको थियो।
तर महासङ्घका अनुसार तोकिएको मिति सकिँदासमेत विधेयक संसदमा पेश नभएसँगै देशभरका शिक्षक र कर्मचारीहरू सशङ्कित र आक्रोशित बनेका छन्।