स्याङ्जा, १६ असार । लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ को वालिङ, मिर्दीमा विमोचन तथा विमर्श गरिएको छ । मिर्दीस्थित नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्ट एन्ड लजमा एक कार्यक्रमका बीच शनिवार (असार १४ गते) कृतिको विमोचन गरिएको हो ।
स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार रानाले अध्यक्षता गरेको कार्यक्रममा प्रमुख अतिथि पूर्व कृषि मन्त्री त्रिलोचन ढकाल, समालोचक डा. अशोक थापा तथा समीक्षाक द्वय शान्ता थापा र शम्भु अर्याल एवम् लेखकले संयुक्तरूपमा कृतिको अनावरण गर्नुभयाे ।
प्रमुख अतिथि ढकालले भन्नुभयाे ´साहित्य कल्पना र यथार्थताको संयोजन हो, यो पक्ष सत्यम्मा पाइन्छ, वियोगीका कथामा २०५२ सालदेखि २०६२ सालसम्मको माओवादी द्वन्द्वको परिवेश पनि समेटिएको छ ।´
समाचोलक डा. थापाले पत्रकारिता पेशामा रहेका वियोगीले समाचार तथा फिचरमा लेख्न नमिलेका र लेख्न नसकेका विषयसमेत उनको कथाकृतिमा झल्किने गरी उतारेको बताउनुभयाे । असत्यले सत्यलाई छायामा पारेको यो समाजको वर्गीय पीडा र यथार्थ सत्य उत्घाटित गर्नु कथाकृति सत्यम्को विशेषता रहेको उहाँको भनाइ थियो । पारिवारिक विखण्डन, वैदेशिक रोजगारी र त्यसले समाजमा पारेको असरजस्ता विषयसमेत सत्यम्ले उठाएको उहाँले बताउनुभयाे । तथ्यपरक विषय गणित पढेको, तथ्यमै आधारित पेशा पत्रकारिता अँगालेका वियोगीले बाङ्गोटिङ्गो भावपरक विधा साहित्य लेख्नु आफैँमा रोचक विषय भएको विवेचना गर्नुभएकाे थियाे ।
कृतिको समीक्षा गर्दै समीक्षक तथा आँधीखोला रेडियोकी अध्यक्ष शान्ता थापाले सत्यम् स्याङ्जाको मौलिक संस्कृति समेटिएको कृति रहेको बताउनुभयाे । कृति पठनको क्रममा आफू धेरै पटक भावुक भएको पनि उहाँको भनाइ थियो ।
अर्का समीक्षक तथा निबन्ध कार शम्भु अर्यालले समाज र परिवेशका अति सुक्ष्म विषय लाई कृतिले उधिनेर निकालेको बाताउनुभयाे । कथामा स्याङ्जाली भूगोलको मौलिकता अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरिएको पनि बताउनुभयाे ।
कथाकार वियोगीले कृति रचनाको पृष्ठभूमिका विषयमा बोल्नुभएकाे थियाे । ‘म कथाकार वा लेखक बनुँला/नबनुँला,’ उहाँले भन्नुभयाे, ‘सबैभन्दा ठूलो कुरा धेरैले मलाई सहयोग गर्नुभयो र त्यही दिशानिर्देशले नै आज यो ठाउँमा छु, म सबैप्रति आभारी छु । मैले सत्यम्लाई होइन, सत्यम्ले मलाई चिनाइदिए पुग्छ ।’
कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका अध्यक्ष रानाले वियोगीले कथामार्फत आफ्नो जन्मभूमि र यहाँको मौलिकतालाई थप उजागर गरेको बताउनुभयाे ।
साहित्य क्षेत्रमा कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीतमा समेत कलम चलाउँदै आउनुभएका वियोगीको यो पहिलो कथा–कृति हो । समालोचकहरूले भने जस्तै कथा–कृतिमा वियोगीले विशेषतः पश्चिम नेपाल अर्थात् गण्डकी पानीढलो, त्यसमा पनि स्याङ्जा जिल्लाभित्र प्रचलित भाषिक सौन्दर्यका तथा माओवादी द्वन्द्वको पृष्ठभूमिमा सिर्जित नेपाली समाजका अनेक पाटालाई उत्खनन् गरेका छन् ।
यथार्थवादी धारका कथाहरूमा सामाजिक विभेद, असमानता तथा जनयुद्धका त्रासदी समेटिएका छन् । बालवयका स्वरलहरीमा मिसिएर आएका अनेक लोकभाकाका मुच्र्छना र लोक–संस्कृतिको सुगन्ध पनि पाइने कार्यक्रममा चर्चा गरियो । स्याङ्जाको टाकुरामा टेकेर उडेका भावना मध्यपश्चिम, सुदूरपश्चिम र पूर्वतिरसमेत डुल्न भ्याएका छन् । कथामा पर्यावरणीय चेत र वस्तुवादी धारसमेत पाइन्छ ।
`सत्यम्´को गृहविमोचन तथा विमर्श एवम् बृहत् सिर्जना वाचन समारोह नाम दिइएको कार्यक्रममा २५ जना कविहरूले सिर्जना वाचन गर्नुभएकाे थियाे ।
करिब २ दशकदेखि पत्रकारितामा सक्रिय वियोगीसँग विगतमा नेपाल समाचारपत्र, नागरिक दैनिक लगायत विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकामा काम गरेको अनुभव छ । हाल उहाँ नेपालको पहिलो ऊर्जा सम्बन्धी अनलाइन तथा अर्धवार्षिक पत्रिका ‘ऊर्जा खबर’को सम्पादकको जिम्मेवारीमा हुनुहुन्छ । साहित्य लेखनमा विशेष रुची राख्ने वियोगी विशेषतः कथा र निबन्ध विधामा कलम चलाउँनुहुन्छ ।
‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८’ मा उहाँको निबन्ध ‘कोरोनाको कर्खा’ प्रथम भएको थियो । त्यस्तै, ‘डिसहोम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता’को पहिलो संस्करणमा उहाँको ‘टाउको’ शीर्षकको कथा दोस्रो भएको थियो । यो कथा पनि सङ्ग्रहमा समावेश भएको उहाँले बताउनुभयाे । उहाँका शब्द सिर्जनामा करिब एक दर्जन जति आधुनिक तथा लोक–आधुनिक गीत रेकर्ड भएका छन् ।
पेज टर्नर प्रालिले प्रकाशन गरेको १५ कथा सङ्ग्रहित कृतिको बजार मूल्य ४५५ रुपैयाँ रहेको छ । यस प्रकाशनले अहिलेसम्म करिब ३ दर्जन साहित्यिक कृति प्रकाशन गरिसकेको छ ।