काठमाडौं,२० असार । काठमान्डौँ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकाले उपत्यकाकै बहुप्रतीक्षित प्रशासकीय भवन उद्घाटन गरेको छ । भवनको उद्घाटन शहरी विकास मन्त्री एवं कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले एक भव्य समारोहबीच उद्घाटन गर्नुभएकाे हाे ।
समारोहमा बोल्दै मन्त्री सिंहले कागेश्वरी मनोहरा नगरवासीको प्रशासनिक सेवा प्रवाहलाई प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले भवन निर्माण गरिएको बताउनुभयाे । उहाँले प्राकृतिक मैत्री नगर बनाउने अभियानमा जनप्रतिनिधि र जनताको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै सेवा प्रवाहमा वार्षिक मूल्याङ्कन र पारदर्शिता आवश्यक भएकोमा जोड दिनुभयाे ।
उहाँले नेपाली कांग्रेसले ल्याएको संविधानबारे चर्चा गर्दै, “संविधान जारी गर्दा हामीले कस्तो सोचसहित ल्याएका थियौं भन्ने सम्झन जरुरी छ, गाली गर्न होइन, १७ साल र ४६ सालका सन्दर्भ उठाउँदै, गुमेको अधिकार जनताले पुनः प्राप्त गरेको दाबी गर्नुभयाे ।
सरकारमा हुँदा प्रतिपक्ष नेताहरूले के गरे ? भन्ने प्रश्नको जवाफ खोजिनुपर्ने बताउँदै, “कुईएको आलु जनताले आफैं छान्नुपर्छ,“ भन्ने कटाक्ष समेत गर्नुभयाे । सबै नेतालाई एउटै कोटीमा राख्ने प्रवृत्ति गलत भएको भन्दै मिडिया ट्रायलको नाममा दण्डहीनता प्रोत्साहित नहुने चेतावनी दिनुभयाे विधिको शासन अन्तर्गत जो दोषी छन्, अनुसन्धानमार्फत कारबाही हुने जनकारी दिनुभयाे ।
कार्यक्रममा अर्थ समितिका सभापति तथा सांसद सन्तोष चालिसेले नगरको विकासमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै, युवामा बढ्दो विदेशिने प्रवृत्ति रोक्न सकिने वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नुभयाे ।
ललितपुर महानगरका प्रमुख चिरी बाबु महर्जनले नयाँ भवन जस्तै सेवाको गुणस्तर पनि सुन्दर र व्यवस्थित बनाउन आग्रह गर्नुभयाे ।
नगर प्रमुख उपेन्द्र कार्कीले भवन निर्माणपछि नगरको सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयाे । उहाँले आफू निर्वाचित भएयता शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, महिला उद्यम लगायत क्षेत्रमा उल्लेखनीय काम भएको उल्लेख गर्दै, आगामी दुई वर्षभित्र खानेपानीको समस्या पूर्ण रूपमा समाधान गर्ने प्रतिबद्धता जनाउनुभयाे ।
उहाँले भवन निर्माणका क्रममा थलीको चउरको मर्यादा राखिएको र अब व्यवस्थित ढंगले अन्य क्ष्ोत्रमा खेलकुद मैदान निमार्ण गरिने जानकारी दिनुभयाे । “काम गर्न भवन मात्र हैन, इमानदार सोच पनि चाहिन्छ,” उहाँकोे भनाइ थियो ।
उद्घाटन समारोहमा संघीय सांसद, स्थानीय जनप्रतिनिधि, कर्मचारी, पूर्व मेयर, विद्यालयका प्र.अ, वडाध्यक्षहरू तथा नगरवासीहरूको बाक्लो उपस्थिति थियो ।
करिब ३९ करोड ५४ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भवन वडा नं. ५ मा अवस्थित छ । निर्माण कार्य सम्पन्न हुन तीन वर्ष लागेको प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो ।
अपांग मैत्री भवनको हरेक तल्लामा २ वटा भर्याङ, २ वटा लिफ्ट र आपतकालीन भर्याङ समेत रहेको छ । आगलागीको सूचना दिने “स्मोक डिटेक्टर” र अग्नि नियन्त्रण गर्ने सामाग्री पनि भवनमा छ । भवनको मोहोडा मल्लकालीन शैलीमा निर्माण भएको छ ।