काठमाडौँ, २० असार । पछिल्लो एक हप्तामा देशभर ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको पाइएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसीडीले सार्वजनिक गरेको आँकडाअनुसार ४ प्रदेशमा एक सातामा ३५ जना कोरोना सङ्क्रमित भएका हुन् ।
सबैभन्दा बढी बागमती प्रदेशमा २६ जनामा कोभिड–१९ सङ्क्रमण भएको महाशाखाले जनाएको छ । त्यस्तै कोशी प्रदेशमा ४, मधेस प्रदेशमा ३ र गण्डकी प्रदेशमा २ जनामा सङ्क्रमण पुष्टि भएको तथ्याङ्कमा उल्लेख छ ।