स्याङ्जा जिल्लामा पूर्ण खोप सुनिश्चितताको घोषणा, उत्कृष्ट पालिका र स्वास्थ्य संस्थाहरू सम्मानित

२०८२ असार २१, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल
स्याङ्जा, २१ असार । स्याङ्जा जिल्लालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणिकरण गरिएको छ । जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ प्रकारका रोग विरुद्धका ७ वटा खोपका मात्रा पूरा गरिएपछि जिल्लाले यो उपलब्धि हासिल गरेको हो ।

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले पुतलीबजार नगरपालिकामा आयोजित विशेष कार्यक्रममा यो घोषणा गर्नुभएको हो । उहाँले आगामी दिनमा पनि खोप कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र बालबालिकालाई आवश्यक सबै खोप समयमा लगाउने कुरामा जोड दिनुभयो ।

उक्त कार्यक्रममा जिल्लाका सबै ११ पालिकाका प्रमुख तथा प्रतिनिधिहरूले पनि दिगो खोप सुनिश्चितताको प्रतिवद्धता जनाएका थिए । प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार छुटेका केही बालबालिकालाई समेत खोप दिइएपछि स्याङ्जालाई पूर्ण खोप प्राप्त जिल्ला घोषणा गरिएको हो । यसअघि पनि स्याङ्जालाई २०७५ सालमा पहिलोपटक पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको थियो ।

उक्त कार्यक्रममा खोप सेवामा उत्कृष्ट कार्य गरेका पालिका, स्वास्थ्य संस्था र कर्मचारीहरूलाई सम्मान गरिएको थियो । कालीगण्डकी गाउँपालिका उत्कृष्ट पालिकाका रूपमा प्रथम स्थानमा पुरस्कृत भएको थियो । त्यस्तै अर्जुनचौपारी गाउँपालिका दोस्रो र वालिङ नगरपालिकाले तेस्रो स्थान प्राप्त गरेका थिए ।

त्यसैगरी सबै पालिकाबाट एक–एक वटा स्वास्थ्य संस्था र एक–एक जना स्वास्थ्यकर्मीलाई पनि पुरस्कार प्रदान गरिएको थियो । यो अभियानले बालबालिकालाई खोपको पहुँचमा ल्याएर रोगको जोखिम न्यूनीकरण गर्ने मात्र नभई, स्याङ्जालाई दिगो विकास लक्ष्य २०३० अन्तर्गत बालमृत्यु दर शून्यमा झार्ने राष्ट्रिय अभियानमा महत्वपूर्ण उदाहरणको रूपमा प्रस्तुत गरेको छ ।

स्वास्थ्य कर्मी अन्तर्गत भिरकोट नगरपालिका बाट नानु माया काफ्ले बाने थोक देउराली स्वास्थ्य चौकीबाट, पुतलीबजार नगरपालिका बाट ममता श्रेष्ठ सातु पसल स्वास्थ्य चौकीबाट, वालिङ्ग नगरपालिका बाट सावित्री भट्टराई मिर्दि आधारभूत स्वास्थ्य चौकी बाट, चापाकोट नगरपालिका बाट कमल सिंजाली रत्न पुर स्वास्थ्य चौकीबाट, गल्याङ्ग नगरपालिका बाट प्रमिला अधिकारी तीन दोबाटो स्वास्थ्य चौकीबाट, फेदीखोला गाउँपालिका बाट सुचित्रा गुरुङ्ग फेदीखोला आधारभूत स्वास्थ्य चौकीबाट, आँधीखोला गाउँपालिका लोक प्रसाद लामिछाने वाङ्सिङ स्वास्थ्य चौकीबाट, अर्जुन चौपारी गाउँपालिका गीता पौडेल दरौ स्वास्थ्य चौकीबाट, हरिनास गाउँपालिका लक्ष्मी सिंजाली सामुदायिक बाट, विरुवा गाउँपालिका गीता थापा कुसुम भञ्ज्याङ्ग स्वास्थ्य चौकीबाट, कालीगण्डकी गाउँपालिका रोशनी थापा आलमदेवी स्वास्थ्य चौकीबाट सम्मानित हुनु भएको छ।

त्यसैगरी पालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा चण्डी कालिका स्वास्थ्य चौकी, गह्रौं प्राथमिक अस्पताल आधारभूत स्वास्थ्य सेवा केन्द्र , तुलसी भञ्ज्याङ्ग स्वास्थ्य चौकी, फेदीखोला स्वास्थ्य चौकी, सेती दोभान स्वास्थ्य चौकी, रापाकोट स्वास्थ्य चौकी,विरुवा स्वास्थ्य चौकी, क्याकमी स्वास्थ्य चौकी, बेल् डाडा आधारभूत स्वास्थ्यबारे केन्द्र र चण्डी भञ्ज्याङ्ग स्वास्थ्य चौकी उत्कृष्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय