शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय

२०८२ असार २२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं, २२ असार । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई थप पाँच दिनको समय दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले समितिमा विधेयकमाथि यसअघि भएका सहमतिलाई कुनै असर नपर्ने गरि शिक्षकहरुसंग छलफल गरि टुङ्गोमा पुराउन सरकारलाई पाँच दिनको समय दिएको हो । समिति सभापति अम्मरबहादुर थापाले विधेयकमा रहेका बिषयमा सहमति जुटाएर समितिमा जानकारी शिक्षामन्त्रीलाई पाँच दिनको समय दिनुभयो । शिक्षा मन्त्री रघुजी पन्तले भने समय नतोक्न आग्रह गर्नुभएको थियो । तर अनिश्चितकालसम्म बैठक स्थगीत गर्दा विधेयक अघि बढ्न नसक्ने देखिएकाले अन्तिम पटकका लागि पाँच दिनको समय दिएको सभापति थापाले बताउनुभयो ।

बैठकमा शिक्षामन्त्री पन्तले विधेयकमाथिको केहि बुँदामा शिक्षकहरुसंग छलफल गर्नुपर्ने भएकाले केहिदिनको समय माग गर्नुभयो । उहाले विधेयकमाथि सबैको सहमति भए राम्रो हुने भएकाले थप छलफलको आवश्यकता देखिएको उल्लेख गर्नुभयो ।

त्यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले विद्यालय शिक्षा विधेयकमाथि छलफल गरेर सहमतिको वातावरण बनाउने बताउनुभयो । उहाले अव केहिदिनको समय लिएर विधेयक अघि बढाउन आग्रह गर्नुभयो ।

समिति सदस्यहरुले सरकारका कारण विधेयक रोकिएको भन्दै आपत्ति जनाएका थिए । माओवादी सांसद रेखा शर्माले समितिमा सहमति भइसकेको बिषयमा फेरि अनावश्यक विवाद गर्न आवश्यक नरहेको बताउनुभयो । उहाले शिक्षा समितिमा कांग्रेस वा अन्य कुनै दलको ह्वीप नमान्ने धारणा राखेपछि कांग्रेस प्रमुख सचेतक घिमिरले आपत्ति जनाउनुभयो ।

घिमिरेले आफ्नो अपमान भएको भन्दै बैठकबाट हिड्न खोजेपछि सभापति अम्वर बहादुर थापाले रोक्नुभएको थियो ।

त्यस्तै बैठकमा एमाले सांसद विद्या भट्टराईले शिक्षकहरुलाई सवैले सम्मान गर्नुपर्ने र सेवा सुविधाका बारेमा ऐनले बोल्नुपर्ने भएपनि अडान कायम गर्नु उचित नहुने बताउनुभयो ।त्यस्तै रास्वपा सांसद सुमना श्रेष्ठले विधेयकमाथि पहुँचवाला शिक्षकहरुले राजनीति गर्न नहुने धारणा राख्नुभयो ।

विधेयकका सन्दर्भमा शिक्षा मन्त्रालय र शिक्षकहरुबीच कुरा मिल्न नसक्दा समितिमा सवै बिषयमा सहमति जुट्दा समेत विधेयक अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय