नुवाकोट,२४ असार । चीनको तिब्बत हुँदै आएको ल्हेन्दी खोलाको बाढीबाट तीनजना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन।
इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारको लागि खटिएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ,जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा सम्पर्कविहीन रहेका छन्।


सडकमार्ग बाढी पहिरोले क्षति गरेपछि हवाई उद्धार सुरू भएको छ । सरकारी र निजी कम्पनीका हेलिकोप्टरले उद्धार गरिरहेकाे छ। बाढीले रसुवागढी पुललगायत दर्जनौं संरचनामा क्षति गरेको छ । बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल भत्काएसँगै १२ वर्षपछि नेपाल–केरुङ यातायात सम्पर्क विच्छेद भएको छ ।
१२ वर्ष अगाडि रसुवागढीस्थित लेन्दे खोलामा चीन सरकारले पक्की मोटरेवल पुल बनाएका थियो । मंगलबार आएको भीषण बाढीले पुलको नामोनिसाना नै मेटाएको छ । नेपाल–चीन आयात-निर्यात ठप्प भएको छ । राजश्वसमेत प्रभावित हुने भएको छ ।
बाढीले रसुवागढीस्थित ल्हेन्दी खोलामा मितेरी पुल बगाउनुका साथै धेरै संरचनामा क्षति गरेको गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताएउनुभयाे।
बाढीमा फसेका ९ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाइएको छ । तीनजना प्रहरीसहित १८ जना हराइरहेकोमा खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयाे।
एकजना नेपाल प्रहरी, एकजना सशस्त्र प्रहरी र सातजना स्थानीयवासीको उद्धार गरिएको छ ।
नेपाल–चीन सिमाना रसुवागढीस्थित ल्हेन्दी खोलामा बाढी आउँदा मानवीय क्षतिसँगै दर्जनौं सवारी साधन,भौतिक संरचनामा क्षति पुगेको छ।