उपनिर्वाचनमा मोर्चाको संयुक्त उम्मेदवार, नाउपा उम्मेदवारलाई समर्थन गर्ने

२०८२ असार २४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २४ असार । संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही क्षेत्र न.३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

मंगलबार काठमाडौंमा बसेको मोर्चाको बैठकले रुपन्देही क्षेत्र न.३ को उपनिर्वाचनमा मोर्चाको संयुक्त उम्मेदवारको रुपमा नाउपा उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

बैठकले संविधान संशोधनका लागि मोर्चाले आफ्नो राय एकमत बनाउने र आवश्यक कुराहरु संविधान संशोधनका लागि क्रमशः उठाउँदै जाने निर्णय गरेको तराई–मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता डा बिजय कुमार सिंहले जानकारी दिनुभयो । त्यस्तै राज्य व्यवस्था समितिबाट पारित भएको निजामति विधेयकमाथिको चलखेल लोकतान्त्रिक र संसदीय अभ्यासप्रति गम्भीर अपराध भएको मोर्चाको ठहर रहेकाले त्यस्ता काममा संलग्नलाई संसदीय समितिले छानबिन गरी कारबाही गर्नुपर्ने र संसदको मर्यादा कायम राख्नुपर्नेमा जोड दिइएको सिंहले बताउनुभयो ।

त्यस्तै बैठकले सर्वोच्च अदालतको संवैधानिक इजलासबाट भएको संवैधानिक पदाधिकारीहरुको नियुक्ति सम्बन्धी निर्णयप्रति गम्भीर निराशा व्यक्त गरेको छ । त्यस्तै किसानहरुलाई मलखादको अभाव भएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय