काठमाडौँ ,२९ असार। नेकपा माओवादी केन्द्रका सांसदहरुले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणमा सरकारको जवाफ माग गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा धारणा राख्दै माओवादी सांसदहरुले सामान्य प्रशासन मन्त्रीको घुससम्बन्धी अडियो प्रकरणमा सरकारको जवाफ माग गरेका हुन् ।


माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सामान्य प्रशासन मन्त्री र भूमि व्यवस्था मन्त्रीको घुस डिल सम्बन्धी समाचारहरु सार्वजनिक भएको भन्दै यसबारे प्रधानमन्त्रीले सदनमा जानकारी दिन माग गर्नुभयो । सुशासनका बिषयमा सरकारले बलियो कलम चाल्न समेत उहाले माग गर्नुभयो ।
त्यस्तै माओवादी केन्द्रकी सांसद रेखा शर्माले सामान्य प्रशासनमन्त्री र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाखको डिल गरेको भन्ने समाचारहरु बाहिर आइरहेको भन्दै प्रधानमन्त्रीले सदनमा जानकारी गराउन माग गर्नुभयो ।
उहाले यस प्रकरण छानविन गरी दोषी भेटिए कारवाही हुनुपर्ने उल्लेख गर्नुभयो । त्यस्तै माओवादी केन्द्रका अर्का सांसद सुदन किरातीले सुशासनका लागि भनेर बनेको सरकारको छातीमा कुशासनको तक्मा थपिएको जिकिर गर्नुभयो । सामान्य प्रशासनमन्त्री र भूमि सुधारमन्त्रीको बारेमा सञ्चारमाध्यममा आएका बिषयमा सरकारको तर्फबाट संसद्लाई सत्यतथ्य जानकारी गराउनुपर्ने उहाले माग गर्नुभयो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि प्रतिपक्षीले सरकारको जवाफ माग गरेको हो । यस बिषयमा सत्तापक्ष दलबाट भने कुनै प्रतिक्रिया आएको छैन ।