भोटेकोशी नदीमा क्षति भएका संरचनाको छिटै पुननिर्माण हुन्छ : गृहमन्त्री लेखक

२०८२ असार २९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ ,२९ असार । गृहमन्त्री रमेश लेखकले रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण क्षति भएका संरचनाको छिटै पुननिर्माण सुरु गरिने बताउनुभएको छ ।

आइतबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मन्त्री लेखकले अहिले सम्पूर्ण ध्यान बेपत्ता भएकाहरूको खोजीकार्यमा केन्द्रीत रहेको भन्दै अव छिटै पुननिर्माण सुरु गरिने जानकारी दिनुभएको हो । १० दिनसम्म खोज र उद्दारको कार्यका साथै राहत बितरण हुने र त्यसपछि पुननिर्माण र पुनस्र्थापनाको काममा ध्यान दिने उहाले बताउनुभयो ।

गृहमन्त्री लेखकले बाढीमा परेर मृत्यु भएकाहरूका परिवारलाई र कानुनी व्यवस्थाअनुसार राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको धारणा राख्नुभयो । २० जना व्यक्ति नेपालबाट वेपत्ता भएको अवस्था देखिएको र ११ जना चीनको भूभागबाट बेपत्ता भएको खबर आएको उहाले बताउनुभयो । त्यस्तै गृहमन्त्री लेखकले बिपद् प्राधिरकरणले पूर्वबिपद् सूचना प्रभावकारी बनाएको र विपद् जोखिम न्यूनीकरणका लागि सरकार सबै किसिमले तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण चीनसंगको सम्बन्ध पूर्णरुपमा टुटेको र भन्सार क्षेत्रमा ठूलो क्षति भएको जानकारी दिनुभयो । बिपद् पश्चात तीनवटै सुरक्षा निकाय परिचालन गरेर उद्दारको कामलाई प्राथमिकता दिएको उहाले बताउनुभयो । त्यस्तै भट्टले चीनमा फसेका ९१ जना नेपालीहरुको सम्पूर्ण रेखदेखको व्यवस्था चीनिया पक्षले गरिरहेको र नेपालतर्फ फसेका विदेशी नागरिकलाई काठमाडौं ल्याइएको उल्लेख गर्नुभयो ।

उहाले बाढीमा परेकामध्ये हालसम्म ११ जनाको शव फेला परेको र अझै कम्तिमा १७ जना बेपत्ता रहेको जानकारी गराउनुभयो । बैठकमा समिति सदस्यहरुले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहलाई आवश्यक जिम्मेवारी र स्रोत साधन उपलव्ध गराउनुपर्नमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय