ओली–देउवाले आफूलाई स्वमूल्याङ्कन गरेर सुध्रिनुपर्छः कांग्रेस नेता खड्का

२०८२ असार ३०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं, ३० असार । नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले कांग्रेस–एमाले गठबन्धनसहितको सरकारले सरकार भएको अनुभूति जनतामा दिन सक्नुपर्ने बताउनुभएकाे छ। सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित सरकारको एक वर्षे समीक्षा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारमा सुधार आवश्यक रहेको बताउनुभएकाे हाे । उहाँले दुई ठूला दलको सरकार बने पनि सुशासन दिन नसकेको, आर्थिक समृद्धि नभएको र जनतालाई सरकार भएको अनुभूति नभएको बताउनुभयाे ।

‘दुईवटा पार्टीहरुले सुशासन दिनुपर्ने हो, आर्थिक समृद्धिका कुराहरुलाई अगाडि बढाउन पर्ने हो, त्यो सरकारले जनतालाई दिनुपर्ने अनुभूति कमी भएको जस्तो मलाई लाग्छ,’– उहाँले भन्नुभयाे । सत्ता समीकरण कुनै व्यक्तिगत स्वार्थ पूर्ति गर्नका लागि नभई राष्ट्र र जनतालाई केन्द्र भागमा राखिनुपर्ने उहाँको भनाइ छ । उहाँले कांग्रेस–एमालेलाई गल्ती गर्ने छुट अब नरहेको बताउनुभयाे । उहाँले यो गठबन्धन सरकार असफल भएको खण्डमा देशमा ठूलो दुर्घटना हुने खतरा रहेको बताउनुभयाे । ‘यदि यो सत्ता समीकरण कुनै कारणले टुट्यो, असफल भयो भने यो देशमा ठूलो दुर्घटना हुनसक्छ । दुईवटा ठूला दल मिलेर पनि राजीतिक स्थायित्व दिन सकेनौं, सुशासन दिन सकेनौं र युवाहरुलाई भरोसा दिलाउन सकेनौं,’– उहाँले. भन्नुभयाे ।

सरकारले युवाहरुलाई राज्यभित्र भविष्य छ र प्रगति गर्न सक्छु भन्ने खालको विश्वास दिलाउन सक्नुपर्ने उहाँले बताउनुभयाे । आज देश रेमिट्यान्सले चलिरहेको र यसरी सधैंभरी नधानिने उहाँले बताउनुभयाे । अहिले देशको राष्ट्रिय राजनीतिसमेत सही ढङ्गले नचलेको उहाँको दाबी छ ।

‘अहिले देशको राष्ट्रिय राजनीति पनि जुन तरिकाले चल्नुपर्ने हो, त्यो चल्न सकिराखेको छैन,’– उहाँले भन्नुभयाे, आज भ्रष्टीकरण व्यापक भएको छ । भ्रष्टीकरण बढेको छ । यो भ्रष्टीकरणलाई कसरी न्यूनीकरण गर्ने ? जहाँसम्म वित्तीय अनुशासन मुलुकमा कायम हुँदैन, तबसम्म सुशासन अगाडि बढ्दैन । त्यसैले आज वित्तीय अनुशासन अराजकतातिर गइराखेको छ ।’

नेता खड्काले दुई ठूला दल मिलेर पनि जनतामा भरोसा दिलाउन नसकिएको बताउनुभयाे । अब दुईवटा ठूला दलका नेताहरुले आफ्नो स्वमूल्याङ्कन गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयाे । नेताहरुले आफैंबाट रुपान्तरित र आफैंबाट सुधार खोज्नुपर्ने उहाँले बताउनुभयाे ।

‘दुईवटा ठूला दलका नेताहरुले आफैंलाई स्वमूल्याङ्कन गर्नुपर्ने बेला आएको छ । आफैंबाट सुधार गर्नेपर्ने अवस्था छ । अब कसैलाई आदेश दिने, कसैलाई अर्ती दिने, कसैलाई निर्देशन दिने होइन । स्वयं मेरो पार्टीका सभापति शेरबहादुर देउवाले आफूलाई स्वमूल्याङ्कन गर्नुपर्यो,’– उहाँले भन्नुभयाे, ‘पाँच पटक प्रधानमन्त्री हुनुभएको छ । उहाँको हातमा अहिले शासन छ । तीन चार पटक प्रधानमन्त्री बन्नुभएको छ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । अब उहाँहरुले यो मुलुकको नेतृत्व सम्हालेर जिम्मेवारीपूर्वक जवाफदेहिताका साथ राष्ट्रय र जनतालाई केन्द्र भागमा राखेको सुशासन दिनैपर्छ ।’

साथै, राष्ट्रिय सहमति गरेर सबैको अपनत्व हुने किसिमले संविधान संशोधन गरिनुपर्ने उनको भनाइ छ । यदि कांग्रेस–एमालेसहितको सरकार असफल भएको खण्डमा डेमोक्रेशी नै असफल हुने र देशमा राजनीतिक अस्थिरता फैलिने उहाँले बताउनुभयाे । राष्ट्र र जनतालाई केन्द्र भागमा राखेर दुई ठूला दलका नेताहरु आफू सुध्रिनुपर्ने उहाँले बताउनुभयाे ।

‘राष्ट्र र जनतालाई केन्द्र भागमा राखेर दुई ठूला दलका नेताहरु आफू सुध्र्रिनुपर्छ । आफू सुध्रिसकेपछि तलका कार्यकर्ताहरु अटोमेटिक सुध्रिन्छन् । यो तरिकाले राज्य चल्दैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय