काठमाडौं, ३१ असार। भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानविन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले मंगलबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । उनीहरुले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै निरन्तर सदनमा विरोध गरिरहेका छन् । रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिनुभयो ।


सांसद नेपालीले अडियो प्रकरणमा मुछिएका मन्त्रीले राजीनामा दिएको अवस्थामा भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले राजीनामा दिने नैतिकता देखाउन नसकेको बताउनुभयो । उहाले भिजिट भिसा प्रकरणमा छिटो भन्दा छिटो उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने भन्दै समिति गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहेको बताउनुभयो । सरकारले बनाएको समितिबाट अपराध ढाक्ने प्रयास भइरहेको उहाको भनाइ छ । .
त्यस्तै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले घुस प्रकरणको अडियो सार्वजनिक भएका मन्त्रीको राजीनामाले मात्रै नपुग्ने भन्दै पक्राउ गरि छानविन गर्न माग गर्नुभयो । उहाले प्रधानमन्त्रीको क्यावीनेटले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाउनुभयो ।
सांसद शाहीले बोलेपछि एमाले सचेतक सुनिता बरालले नियमापति गर्नुभयो । उहाले प्रधानमन्त्रीमाथि शाहीले तथ्यहिन आरोप लगाएको भन्दै रेकर्डबाट हटाउन माग गर्नुभयो। समग्र सरकार र सरकारको नेृतत्वमाथि बदनाम गर्ने प्रयास भएको भन्दै उहाले आपत्ति जनाउनुभयो ।
सभामुख घिमिरेले सांसदहरुले उठाएका बिषय र नियमापत्तिहरुप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानविन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरुले सदन बहिष्कार गरेको छ ।