काठमाडौं, १ साउन। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आएको बताउनुभएको छ ।
विद्युत विकास विभागको ३२औं वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खड्काले नीति र नियमले काम रोकिएको भए सुधार गरेर भएपनि जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आएको बताउनुभएको हो ।


ऊर्जा अब केवल उज्यालो दिने माध्यम नभइ मुलुकको समृद्धिसँग गाँसिएको विषय भएकाले निजि क्षेत्र मिलेर सरकार अघि बढ्ने उहाले बताउनुभयो । उहाले वर्तमान सरकारको प्राथमिकता देशको समृद्धि साझेदारीको आधारमा सुनिश्चित गर्ने रहेको उल्लेख गर्दै प्राकृतिक स्रोतको प्रयाप्त सदूपयोग गर्न सके ऊर्जा क्षेत्रव्यापार र समृद्धिको मूल स्रोत बन्न सक्ने धारणा राख्नुभयो ।
ऊर्जा मन्त्री खड्काले जमिन अधिग्रहण, प्रसारण लाइन विस्तार र संरचनागत अड्चनलाई हटाउन नीति–नियमको पुनरावलोकन गर्ने बताउनुभयो ।
कार्यक्रममा सेवानिबृत कर्मचारीहरु मधु प्रसाद भेटवाल, अरुण कुमार झा र सरिता प्रधानलाई सम्मान गरिएको थियो ।