प्रकाश डोटेल
स्याङ्जा, ३ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले अहिलेसम्मकै रेकर्ड तोडेको छ । ट्राफिक प्रमुखको रूपमा सात महिना पहिले स्याङ्जा आउनु भएका भुपेन्द्र प्रसाद गौलीको नेतृत्वको टिमले राजस्व संकलनमा अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको हो ।


ट्राफिक कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८१÷०८२ मा झण्डै साँढे १ करोड राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीले उक्त आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउनेलाई कारबाही गर्दा १ करोड ४१ लाख ५३ हजार ५ सय राजश्व संकलन गरेको हो ।
ट्राफिक नियम उल्लंघन गर्ने १९ हजार २ सय ८९ सवारी चालकलाई कारबाही गर्दा उक्त राजश्व संकलन भएको हो । गत आर्थिक वर्ष २०८०÷०८१ को तुलनामा गएको वर्ष ३१ लाख ५६ हजार ५ सय बढि राजश्व संकलनमा भएको छ । अघिल्लो वर्ष १ करोड १० लाख ९७ हजार मात्रै राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार गएको वर्ष २ हजार १९५ ट्रक चालक कारबाहीमा पर्दा १५ लाख ४३ हजार ५ सय राजश्व सकंलन भएको छ । यस अवधिमा २ हजार ५१४ बस चालकलाई कारबाही गर्दा १७ लाख ७८ हजार ५ सय राजश्व उठेको ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक भुपेन्द्र प्रसाद गौलीले बताउनुभयाे ।
ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार ७५ जिप, कार र भेनका चालकलाई कारबाही गर्दा ३० लाख ३१ हजार राजश्व उठेको छ भने १ हजार ४१५ ट्याक्टर कारबाहीमा पर्दा १० लाख १० हजार ५ सय राजश्व संकलन भएको छ । ६ हजार ७९३ मोटरसाईकल चालक कारबाहीमा पर्दा ५१ लाख ८५ हजार ५ सय र २२ सय ९७ अन्य सवारी चालकलाई कारबाही गर्दा १६ लाख ४ हजार ५ सय राजश्व संकलन भएको छ ।
जिल्लाका राजमार्ग र सहायक मार्गहरुमा ट्राफिक नियमलाई कडाईका साथ लागु गरेको प्रहरीले १४ सय २५ सवारी चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएकोमा कारबाही गरेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारबाही गर्दा ७ लाख ३९ हजार ५ सय राजश्व उठेको छ ।
ट्राफिक प्रहरीले लागु पदार्थ सेवन गरी सवारी चलाउने १३ चालकलाई यस अवधिमा पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई बुझाएको थियो । उनीहरुलाई सचेत बनाउँदै आवश्यक कानूनी कारबाही गरेर छाडिएको प्रहरीले जनाएको छ ।