५५ वटा अस्पताल सञ्चालन तयारी अवस्थामा छन : मन्त्री पौडेल

२०८२ श्रावण ५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ,५ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ५५ वटा अस्पताल सञ्चालनको लागि तयारी अवस्थामा रहेको जानकारी दिनुभएको छ ।

सोमबार मन्त्रालयमा आफ्नो कार्यकालको एक बर्षमा भएका उपलब्धि तथा कार्यहरुको विवरण सार्वजनिक गर्दै मन्त्री पौडेलले हालसम्म ११३ वटा आधारभूत अस्पताल निर्माण सम्पन्न भएको भन्दै ५५ वटा अस्पताल सञ्चालनको लागि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

चालू आर्थिक बर्षमा निर्माणाधीन १३७ थप भई कुल २५० अस्पतालनिर्माण संम्पन्न हुने उहाले बताउनुभयो । उहाले आधारभूत अस्पताल निर्माणका लागि रु. ११ अर्ब बजेट व्यवस्था गरिएको जानकारी दिदै स्वास्थ्य संस्था नभएका २५७ वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गरिएको उल्लेख गर्नुभयो ।

उहाले आफ्नो कार्यकालमा तीनै तहका सरकारको समन्वयमा सञ्चालन गर्ने गरी आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८१ जारी गरिएको र विगतमा निर्माण सम्पन्न भई सञ्चालनमा नआएका स्वास्थ्य संरचनाहरू; वीपी प्रतिष्ठानको ४०० शय्याको आमा–नवजात शिशु भवन, भक्तपुर छाती रोग अस्पताल सञ्चालन हुने अवस्थामा पुर्याइएको उल्लेख गर्नुभयो ।

उहाले मन्त्रालय मातहतमा पाँच वर्षभित्र १२ हजार जनशक्ति थप गर्ने प्रयास स्वरुप हाल २१ सय जनशक्ति सहितको संगठन संरचना सुधार गर्न सर्वेक्षण प्रतिवेदन तयार गरी मन्त्रिपरिषद् समक्ष पेश गरिएको बताउनुभयो । स्वास्थ्य बीमा ऐन र नियमावली संशोधन गरी अनलाइन नवीकरण र सहज रिफरलको व्यवस्था गरिएको रप्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रथम सेवा विन्दु रहने व्यवस्था गरिएको उहाले जानकारी दिनुभयो ।

मन्त्री पौडेलले बीमा मार्फत प्राप्त हुने गरी ८ प्रकारका कडा रोगका लागि २ लाख बराबरको उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । संघीय अस्पतालमा विशिष्टकृत सेवा विस्तारका लागि सिटी स्क्यान, पेटस्क्यान, क्याथ ल्याब जस्ता अत्याधुनिक उपकरणका लागि बजेट सुनिश्चित गरिएको र

राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा संघीय अस्पतालहरुमा ९०० भन्दा बढी बिग्रिएका उपकरण मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको उहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय