पूजा खड्का
स्याङ्जा, ६ साउन । सुनौली देखि पोखरा दुई पर्यटकीय स्थल जोड्ने सिद्धार्थ राजमार्गको समीप स्याङ्जा जिल्ला भीरकोट नगरपालिका वडा नम्बर ४ मा अवस्थित प्रसिद्ध एतिहासिक धार्मिक पवित्र छायाक्षेत्र मन्दिरमा साउनको पहिलो सोमबार २ लाख ४५ हजार ९ सय रुपैया भेटी संकलन भएको छ।


साउनको पहिलो सोमबार मात्र मन्दिरमा विविध विधामा २ लाख ४५ हजार ९ सय भेटी संकलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकरी दिनुभयो । मन्दिरमा जिल्ला भित्र तथा जिल्ला बाहिरका हिन्दू धर्मावलम्बी भक्तजनहरुको मन्दिर दर्शन तथा पुजा आजा गर्ने घुइँचो रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो। उहाँले साउन महिनालाई भगवान् शिवको विशेष महिना मानिने भएकाले साउन महिनाको सोमबार तथा साउन महिनाभरनै स्याङ्जा सहित अन्य जिल्लाबाट भक्तजनहरु पूजा आजाको लागि सहभागी हुने बताउनुभयो।
मन्दिर व्यवस्थापन आर्थिक संकलन समितिका संयोजक शोभाकान्त पौडेलका अनुसार गौमुख धाराबाट २० हजार १ सय ६०, सहयोग रसिद बाट ३३ हजार २ सय ७१, द्रुत सेवाबाट ६ हजार ८ सय, स्टलबाट २९ हजार २ सय, दान पेटिका बाट ५७ हजार मुल मन्दिर तथा भजन मण्डली बाट ८९ हजार ५ सय गरी जम्मा २ लाख ४५ हजार ९ सय ३१ रुपैयाँ विविध विधामा भेटी संकलन भएको जानकारी दिनुभयो।
शिव मन्दिरमा साँझ दैनिक रुपमा सन्ध्याकालीन आरती गरिने र साउन महिना भरी साझ साढे ६ बजेदेखि ८ बजेसम्म सन्ध्याकालिन आरति हुने र सोमबार विशेष सन्ध्याकालिन शिव महाआरती हुने मन्दिर संरक्षण समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिनुभयो। साथमा व्यक्तिगत रुपमा आरती गर्न चाहने व्यक्तिलाई रु पाँच हजार तिरेर श्रद्धालु भक्तजनहरुले आफ्ना दिवंगत पितृको स्मृति, शुभकार्य, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका अवसरमा आरति गर्न चाहेमा मन्दिर ब्यवस्थापन समितिले ब्यवस्थापन मिलाउने उहाँले जानकारी गराउँदै हिजो पहिलो सोमबार पाँच हजार सहित आवश्यक सामाग्री स्वयम् व्यक्तिले संकलन गरी आरती गरेको बताउनुभयो। पाँच हजार शुल्क तिरेर मन्दिर व्यवस्थापनले सामग्री जुटाउने बताउँदै इच्छुक र हिन्दू धर्मावलम्बी लगायत बाँकीलाई पनि मन्दिर दर्शन गर्न पनि उहाँले आग्रह गर्न भएको छ। त्यसैगरी श्रेष्ठले मन्दिर व्यवस्थापन समिति १०८ गहुमुखे धारा र १०८ शिवलिङ्ग बनाउने तयारीमा रहेको उल्लेख गर्नुभयो। मन्दिरको वरिपरि १०८ पिपलको विरुवा रिपिसकिएको जनाउदै मन्दिर भित्र धेरै काम बाकी रहेको उहाँले बताउनु भयो।
छायाक्षेत्र मन्दिर मुख्य राजमार्ग बाट समीपमा रहेको हुँदा जिल्ला, प्रदेश र अधिराज्यका विविध ठाउँ बाट र भारत बाट पनि दर्शन गर्ने दर्शनार्थीहरु आउने गरेको पाइन्छ भने पर्यटकिय अघलको भ्रमण गर्ने क्रममा तिब्बतीहरु पनि प्रवेश गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।
धारामा थापिएर स्नान गर्न पाइने हुँदा पवित्र र स्वच्छ तीर्थस्थलको रूपमा छायाक्षेत्र लाई चर्चा गर्ने गरिन्छ। छायाक्षेत्र मन्दिरमा विषेशगरी महाशिवरात्री, वैशाख साउन र माघ संक्रान्ति, प्रत्येक एकादशी, साउनको सोमबार लगायत अन्य सोमबार मंगलबार, तीज, कृष्ण जर्माष्टमी, बालाचतुर्दशी, माता तीर्थ औँशी लगायत विभिन्न पर्वहरुमा भक्तजनहरु मन्दिरमा पुजापाठ स्नान दर्शनका लागि मन्दिर मा पुग्ने गरेको पाइन्छ।